जनता टाइम्स

६ जेष्ठ २०७६, सोमबार १५:३७

उपभोक्ताले नै जंगलमा आगो लगाएपछि….


डडेल्धुरा, जेठ ६

डडेल्धुराका सामूदायिक वनमा आगो लाग्ने क्रम शुरु भएको छ । सुख्खायाम र गर्मी बढेसँगै जिल्लाका करीब दर्जनभन्दा बढी सामुदायिक र सल्लेरी वनमा आगो लाग्ने गरेको जिल्ला वन कार्यालयले जनाएको छ । जिल्लाका त्रिशूल, असुर्पा, अजयमेरु, भद्रपुर र कैलपालमाण्डौँका सामुदायिक वनमा र अमरगढी नगरपालिका–१० राई बस्ती नजिकको वनका साथै महाभारत र चुरे वन क्षेत्रमा समेत आगो लाग्ने गरेको छ ।

साथै जिल्लाका अन्य सामुदायिक तथा सरकारी वनमा समेत आगो लाग्ने गरेको वनमा आवद्ध पदाधिकारी बताउँछन् । स्थानीय उपभोक्ताको लापरवाहीका कारण जङ्गलमा बढी आगलागी हुने गरेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत प्रकाश जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘चुरोट, बिँडी खाएर जथाभावी फाल्ने तथा अन्य लापर्वाहीले वनमा आगलागी हुने गर्छ ।’ नयाँ घाँस पलाउँछ भन्दै सामुदायिक वनका उपभोक्ता आफैँ आगो लगाउने गर्दछन् ।

निजी खोरिया, गजाल (घास काट्नका लागि बनाइएको क्षेत्र) मा उपभोक्ताले नयाँ घाँसका लागि आगो लागाउने र त्यही आगो सुक्खायाममा नियन्त्रनमा ल्याउन नसक्दा अन्य वनसमेत विनाश हुने गर्दछन् । गाई, गोरु चराउन सजिलो हुने भन्दै सल्लेरी वनमा उपभोक्ताले नै आगो लगाउँछन् तर अत्यधिक स्याउला र सोत्तरका कारण आगो नियन्त्रण गर्न नसक्दा वन विनाश हुने गर्दछ ।

आगो लाग्दा भिरालो र घना जङ्गलका स्याउला, सोत्तर र हावाका कारण फैलने भएकाले अन्य वन पनि विनाश हुँदै आएको छ । सुक्खायाममा सल्लेरी वनमा आगो लगाउनेक्रम स्थानीय बासिन्दाबाटै बढी हुने गरेको तथ्य फेला परेको यसबारे जनचेतना जगाउँदा पनि सार्थकरूप लिन नसेको रेञ्जर धनबहादुर झुकालको भनाइ छ । आगलागीका कारण साना बुट्यान र नयाँ बिरुवासमेत विनाश हुन्छ ।

जिल्लामा करीब ६०० सामुदायिक र कबुलियती वन छन् । हरेक वर्ष गर्मीयाममा जिल्लाका प्रायजसो सल्लेरी वन र अन्य वनमा आगलागीका कारण वन विनाश हुँदै आएको छ । जिल्ला वन कार्यालयका अनुसार एक लाख ५३ हजार आठ हेक्टर जमीनमध्ये एक लाख १५ हजार १५९ हेक्टर वन जङ्गल रहेको छ । वर्षेनी यहाँका ५० प्रतिशतभन्दा बढी वनमा आगो लाग्ने गर्दछ ।