जनता टाइम्स

९ बैशाख २०७७, मंगलवार १२:००

अमेरिकामा अब आप्रवासीलाई प्रवेश निषेध


वासिङ्टन, बैशाख ९

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को आदेश जारी नभएसम्मका लागि अमेरिका आप्रवासमा रोक लगाउने घोषणा गरेका छन् ।

सोमबार बिहान ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आप्रवासी नागरिकमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाउने तात्कालिक आदेशमा छिट्टै हस्ताक्षर गर्ने बताएका छन् । कोरोना भाइरसको संकटका कारण अमेरिकामा सीर्जित बेरोजगारीलगायतका आर्थिक समस्याका कारण ट्रम्पले यस्तो कदम चाल्न लागेको बुझिएको छ । तर यसको प्रक्रियातथा मापदण्ड के हुने भन्नेबारे अहिले केही स्पष्ट जानकारी दिइएको छैन ।

ट्रम्पले ट्वीटमा भनेका छन्, ‘अदृश्य दुश्मनको आक्रमणका कारण असहज अवस्था सिर्जना भएको मध्यनजर गर्दै र हाम्रा महान नागरिकको जागिर बचाउनका लागि अमेरिकामा बाहिरका नागरिकको बसोबासमाथि रोक लगाउने अस्थायी कार्यकारी आदेशमाथि हस्ताक्षर गर्दैछु ।’

यतिबेला अमेरिका कोरोना भाइरसको महामारीका कारण आक्रान्त छ । लाखौं अमेरिकी नागरिक बेरोजगार भएका छन् भने अमेरिकी अर्थतन्त्रमा ठूलो धक्का पुगेको छ । अमेरिकामा मंगलबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजार ३ सय ३५ जनाको मृत्यु भएको छ । त्यस्तै मंगलबार बिहानसम्म ७ लाख ८७ हजार ३ सय ७० जना संक्रमित भएका छन् । त्यस्तै ७२ हजार ७ सय ६१ निको भएका छन् ।