धनगढी, बैशाख ९
कोरोनाको सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक जना पुरुष आज अस्पतालवाट डिस्चार्ज हुनुभएको छ ।
लगातार दुई पटक गरिएको नमूनाको परीक्षणवाट नतिजा ‘नेगेटिभ‘ आएपछि अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५का युवकलाई आज डिस्चार्ज गरिएको अस्पतालमा प्रवक्ता डा जगदीश जोशीले जानकारी दिनुभयो ।
डिस्चार्ज हुनेमा ३४वर्षीय अमृत शाही हुनुहुन्छ । दुबईबाट नयाँ दिल्ली र काठमाडौँ हुँदै आफ्नो घर धनगढी पुग्नुभएका उहाँलाई कोरोना सङ्क्रमित भएको पुष्टि भएपछि गएको चैत्र ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । कोरोनाको पहिलो सङ्क्रमित व्यक्तिको रुपमा उपचारका लागि उहाँ सो अस्पतालमा भर्ना हुनुभएको थियो । कोरोनाको सङ्क्रमण भई सोही अस्पतालमा उपचाररत कैलालीको लम्की चुहानगरपालिकाका २१ वर्षीय राज विकलाई यही वैशाख ७ गते अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।
कोरोनामुक्त हुनु भएका जोशीले कोरोना लागिहाले हरेश नखाई आफूलाई तनावमुक्त राखेर फिट हुने सामान्य कुराहरूमा मात्रै ध्यान दिनसके कोरोनालाई जित्न सकिने अनुभव सुनाउनु भयो । ‘मेरो चौंथो र पाँचौं रिपोर्ट नेगेटिभ आएपछि मलाई अस्पतालले डिस्चार्ज गरेको छ। मलाई थाहा छ अबको एकहप्ता मेरा लागि अग्निपरीक्षा हुनेछ। घरमा परिवार भएपनि एक्लो बस्नुपर्नेछ’, उहाको भनाई छ ।
योसँगै सो अस्पतालमा कोरोनाको उपचारपछि घर फर्किनेको सङ्ख्या दुई पुगेको छ । सो अस्पतालमा कञ्चनपुर बेदकोट नगरपालिकाका एक पुरुष र कैलाली लम्की चुहा नगरपालिकाकी एक र अर्को एक महिलासहित तीन जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । उहाँहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
अस्पतालले आज प्रकाशित गरेको सूचनामा अस्पतालमा कोभिड—१९ बाट सङ्क्रमितको उपचारका लागि दुई वटा भेन्टिलेटर पाँच श्ययाकोे छुट्टै आइसियु (सघन उपचार कक्ष) सेवा आजैबाट सञ्चालन गरिएको उल्लेख गरिएको छ । यसै गरी विगतदेखि नै सञ्चालनमा रहेको एक भेन्टिलेटर पाँच श्ययाको आइसियुमा हाल दुई वटा भेन्टिलेटर थप गरिएको सूचनामा जनाइएको छ । भेन्टिलेटरसहित नौ श्ययाको ‘एनआइसियु‘ सेवा भने अस्पतालमा विगतदेखि नै सञ्चालनमा छ ।













प्रतिक्रिया दिनुहोस्