जनता टाइम्स

१६ बैशाख २०७७, मंगलवार ११:४८

उदयपुरको भुल्केमा स्वाब संकलन गर्न शुरु, ९१ जनाको नमूना विराटनगर पठाइयो


उदयपुर, बैशाख १६

कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको उदयपुरबाट सोमबार ९१ जनाको स्वाब नमूना परीक्षणका लागि कोशी जनस्वास्थ्य प्रयोगशाला विभाग विराटनगर पठाइएको छ । स्वास्थ्य कार्यलय उदयपुरका अनुसार आइतबार ८३ र सोमबार थप आठ जनाको स्वाब नमूना सङ्कलन गरेर पठाइएको हो ।

त्रियुगा नगरपालिका गाईघाट डिएमगेट टोलका मुस्लिम नागरिक, मोतीगडा, जिल्लाका केही स्वास्थ्यकर्मीसहित भुल्के क्षेत्रका नागरिकको स्वाब नमूना सङ्कलन गरेर परीक्षणका लागि विराटनगर पठाइएको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले बताउनुभयो । पठाइएको नमूना सङ्कलनको रिपोर्ट बुधबारसम्ममा आउने अपेक्षा गरिएको छ । कोरोना सङ्क्रमणको अवस्था सामान्य बन्दै गएका कारण अब आवश्यकता र मागअनुसार मात्र स्वाब नमूना सङ्कलन गर्न लागिएको प्रमुख सुबेदीले बताउनुभयो । उदयपुरमा कोरोनाबाट २८ सङ्क्रमित भएका छन् ।

गाउँलेद्वारा परीक्षण गर्न माग

त्रियुगा नगरपालिका–३ भुल्केवासीले कोरोनासम्बन्धी स्वाब नमूना सङ्कलन र परीक्षण हुनपर्ने माग गरेका छन् । २८ कोरोना सङ्क्रमित रहेको भुल्केगाउँमा हालसम्म ३२४ को मात्र स्वाब नमूना सङ्कलन गरी परीक्षण भएको तर यो सबै गाउँलेका लागि पर्याप्त नभएको र ढुक्क रहने अवस्था नरहेका कारण अब प्रत्येक घरघरका परिवारको समेत नमूना सङ्कलन र परीक्षण हुनुपर्ने स्थानीयवासीको माग छ ।

भुल्केका ईश्वरीप्रसाद भट्टराई भन्नुहुन्छ, “अहिलेसम्म भुल्केमा ५५ घर मुस्लिम परिवारसहित केही स्थानीयवासी गरेर ३२४ को मात्र स्वाब परीक्षण गरिएको छ । बाँकी अन्य ३०० घरपरिवारका अन्य समुदायको पनि छिटोभन्दा छिटो स्वाब नमूना सङ्कलन गरेर परीक्षण गर्न आफूहरु जोडदार माग गर्दछौँ ।” स्वास्थ्य कार्यलय, स्थानीय प्रशासन र प्रदेशका मुख्यमन्त्री, मन्त्रीले समेत भुल्केवासी सबैको स्वाब नमूना सङ्कलन गरेर परीक्षण गर्ने भनेर आफूहरुलाई ढुक्क पारेको भए पनि अहिलेसम्म बाँकी गाउँलेको स्वाब सङ्कलन र परीक्षण हुन नसकेकामा दुःखी भएको ७० वर्षीय कृष्णप्रसाद ढकाल बताउनुहुन्छ ।

त्रियुगा नगरपालिका–३ का वडाध्यक्ष अपदेश चौधरीका अनुसार भुल्केमा मुस्लिम समुदायबाहेक पहाडी समुदाय क्षेत्री, ब्रह्माण, राई, कामी, दमाई, भुजेलसहित चौधरी जाति बसोबास गर्दै आएका छन् । वडाध्यक्ष चौधरीका अनुसार भुल्केको सबै बासिन्दाको स्वाब नमूना सङ्कलन र परीक्षण हुन आवश्यक रहेको र आफूले सोहीअनुसार पटक–पटक माग गरेको बताउनुहुन्छ । स्वास्थ्य कार्यालय प्रमुख सुवेदीका अनुसार आवश्यकअनुसार भुल्केमा कोरोनाको स्वाब नमूना सङ्कलन र परीक्षण गर्ने काम भइरहेको र छिट्टै छलफल गरेर सामग्री तयार गरी स्वाब नमूना सङ्कलन गर्ने तयारीमा रहेको बताउनुभयो ।