जनता टाइम्स

१६ बैशाख २०७७, मंगलवार १८:५०

स्वदेश र प्रवासमा रहेका विज्ञसँग छलफल हुँदै


काठमाडौं, बैशाख १६

नेपाली प्रतिभाहरूको पहिचान, प्रवद्र्धन, समन्वय, प्रोत्साहन गर्दै राष्ट्रहितमा सहजीकरण गर्ने लक्ष्यका साथ स्थापना भएको ‘ब्रेन गेन सेन्टर’ले आगामी शनिबार ‘उच्च शिक्षा र अनुसन्धान : अन्तरराष्ट्रिय प्रचलन र स्थानीय सहकार्य’ विषयमा स्वदेश र प्रवासमा रहेका विज्ञसँग छलफल गर्ने भएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको सोच र प्रयासमा स्थापित तथा परराष्ट्र मन्त्रालयअन्तर्गत नीति, योजना, विकास कूटनीति तथा विदेशमा रहेका नेपालीसम्बन्धी महाशाखाको इकाइका रुपमा रहेको उक्त सेन्टरले नेपाली–नेपाली बीचको सामीप्य र सहकार्यद्वारा समृद्धितर्फको सहयात्रामा सघाउन पहिलो संस्करणमा आगामी शनिबार उक्त छलफल आयोजना गर्न लागेको हो ।

स्वदेश र विदेशमा रहेका नेपाली विद्वान् र विज्ञहरूबीच ‘अनलाइन’मा पनि छलफल बढाउने उद्देश्यले हुन लागेको उक्त छलफलमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, कृषि, र नेपाल केन्द्रित सहकार्यका ‘मोडेल’ र अनुभवलाई प्रस्ताव गरिएको छ ।

ब्रेन गेन सेन्टरको पोर्टलमा आफ्नो नाम र विज्ञता दर्ता गरेका संसारभर कार्यरत करीब ९०० विज्ञबाट आह्वान गरी ‘प्यानलिस्ट’का रुपमा संलग्न गरिनेछ । मन्त्री ज्ञवालीका प्रेसविज्ञ सुधन ज्ञवालीका अनुसार नेपाल र विदेशमा रहेका उच्च शिक्षामा सहकार्य गरिरहेका विज्ञहरुले आफूले नेपालमा गरेका सहकार्यहरुका बारे र त्यस्ता सहकार्यलाई कसरी अझै प्रभावकारी र बृहत् बनाउँदै लैजान सकिन्छ भन्ने बारेमा छलफल गर्नुहुनेछ ।

सेन्टरले विश्वका कुना काप्चामा रहेका नेपालीसँग सम्पर्क गरी सेन्टरको वेबसाइटमा दर्ता गर्ने अभियानलाई तीव्र गतिमा अघि बढाएको छ । छलफल नेपाली समयअनुसार बिहानको ८ बजेदेखि हुनेछ ।