जनता टाइम्स

१७ बैशाख २०७७, बुधबार १०:२०

युएईमा रहेका नेपालीलाई विवरण भर्न दूतावासको आग्रह


काठमाडौं, बैशाख १७

युनाइडेट अरब इमिरेट्स (युएई)मा कार्यरत नेपालीलाई विवरण पेश गर्न नेपाली दूतावासले आग्रह गरेको छ । नेपालीलाई आफ्ना समस्यासहित विवरण पेश गर्न दूतावासले आग्रह गरेको हो ।

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलिरहेको बेला यसको जोखिम नेपाली श्रमिकहरुलाई पनि परिरहेको भन्दै सबैको अवस्था थाहा पाउन अनलाइनमार्फत विवरण सङ्कलन गर्न लागिएको नेपाली दूतावासले जनाएको छ ।

दूतावासले मंगलबार साँझ सूचना निकालेर यसअघि दूतावासमा टेलिफोन गरेर टिपाएका समस्याहरु पनि व्यवस्थित रुपमा अभिलेख राख्ने र समस्या समाधानका लागि पहल गर्ने जनाएको छ । दूतावासको अधिकारिक वेवसाइटमार्फत वा  https://ae.nepalembassy.gov.np/registration-form-for-nepali-nationals-in-the-uae लिंकमा गएर आवेदन भर्न सकिने छ ।

यो लिङ्क खोलेर आफ्ना विवरणहरु भरिसकेपछि आवेदनको अन्तिममा रहेको सबमिट बटनमा थिच्नुपर्नेछ । जतिसक्दो चाँडो आफ्नो विवरण भर्न पनि दूतावासले आग्रह गरेको छ । विवरणमा उपलब्ध गराएका सूचना गोप्य राखिने पनि दूतावासले जनाएको छ ।