जनता टाइम्स

२७ बैशाख २०७७, शनिबार २०:३०

मन्त्री गुरुङको क्वीक एक्शनले जोगियो सुत्केरीको ज्यान


काठमाडौं, बैशाख २७ । अछामकी एक सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि नेपालगंज ल्याइएको छ । अत्याधिक रक्तश्राव भएपछि रामारोशन गाउँपालिका, भटाकाटियाकी २४ वर्षीया देउमा साउदलाई नेपाली सेनाको हेलिकप्टरबाट आज उद्धार गरी उपचारका लागि नेपालगंजस्थित कोहलपुर मेडिकल अस्पतालमा ल्याइएको हो ।

२५ दिनअघि भटाकाटिया स्वास्थ्य चौकीमा सुत्केरी भएकी उनलाई पेटको दुखाई बढेपछि शनिबार बयलपाटा अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा सुत्केरीको पेटमा अत्याधिक रक्तश्राव भएको पाइएपछि तत्काल अप्रेशन गर्नु पर्ने भएकाले कोहलपुर मेडिकल अस्पतालमा रिफर गरिएको बयलपाटा अस्पतालका स्वास्थ्य निर्देशकडा. विकास गौचनले जानकारी दिनुभयो । अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा खवर गरेलगत्तै मन्त्री पार्वत गुरुङको पहलमा उनको उद्धारका लागि निःशुल्क हेलिकप्टरको व्यवस्था गरिएको थियो । अहिले ती सुत्केरीको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको पनि प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।

उहाँले लकडाउनले मुलुक ठप्प भएका बेला मन्त्री गुरुङको पहलमा ती सुत्केरीको तत्काल हेलिकप्टरमार्फत उद्धार गरी उपचारको व्यवस्था गर्न सकिएको जानकारी पनि दिनुभयो । महिला, बालबालिकातथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रम अन्तरगत ज्यान जोखिममा परेका दूर्गम क्षेत्रका सुत्केरी तथा गर्भवतीको निःशुल्क हवाई उद्धार गर्दै आएको छ । हालसम्म १०१ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिएको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय ईकाइकी प्रमुख अन्जु ढुंगानाले बताउनु भयो ।