जनता टाइम्स

२८ बैशाख २०७७, आईतवार १६:११

भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच सिक्किमको सीमा क्षेत्रमा भिडन्त


काठमाडौं, बैशाख २८ । भारत र चीनका सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रनजिक नथुला पासको सिनो–इन्डिया सीमामा भिडन्त भएको छ । भिडन्तमा दुवैतर्फका केही सुरक्षाकर्मी घाइते भएका छन् ।

भारतीय अखबार द टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले भारतीय एक उच्च अधिकारीलाई उधृत गर्दै भिडन्तको समाचार पुष्टि गरेको छ । समाचारअनुसार स्थानीय स्तरको छलफलको क्रममा दुवैतर्फका सुरक्षाकर्मीबीच भनाभन सुरु हुँदै मुक्कामुक्कीसम्म पुगेको थियो । यसअघि सन् २०१७ को अगष्टमा भारतको लद्दाखसँग जोडिएको सीमाक्षेत्र पाङ्गोङमा समेत यसै प्रकारको विवाद भएको थियो ।

हिन्दूस्तान टाइम्सले विवादमा एक सयभन्दा बढी दुबैतर्फका सेनाको संलग्नता रहेकोमा ११ जना घाइते भएको उल्लेख गरेको छ । सात जना चिनियाँ र चार जना भारतीय सेना घाइते भएको जनाएको छ ।