जनता टाइम्स

२९ बैशाख २०७७, सोमबार १३:०१

कपिलबस्तुका सबै कोरोना संक्रमित लकडाउनमा भारतबाट आएको खुल्यो


कपिलवस्तु, बैशाख २९

सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएका कपिलवस्तुका १० जनामध्ये ८ जना एउटै वडाका रहेको खुलेको छ । सोमबार संक्रमण पुष्टि भएका ८ जना यशोधरा गाउँपालिका वडा नम्बर ५ का रहेका छन् । २० देखि ३४ वर्ष उमेर समूहका उनीहरु अनिरुद्ध पब्लिक माविको क्वारेन्टाइनमा बसेका थिए ।

त्यस्तै बुद्धभूमि नगरपालिकाका २ जना युवकमा पनि सोमबार कोरोना संक्रमण पुष्टि भएको छ । बुद्धभूमि नगरपालिका–७, मानपुरका ३४ वर्षीय युवक र वडा नम्बर १०, धनकौलीका १९ वर्षीय किशोरमा पनि कोरोना भाइरसको संक्रमण देखिको हो । उनीहरु गोरुसिंगेस्थित गौतम बुद्ध माविको क्वारेन्टाइनमा बसेका थिए ।

संक्रमित दशै जना भारतका विभिन्न ठाउँबाट दश दिन अघि घर फर्केका हुन् । कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले उनीहरू सबै १० दिनअघि मुम्बईबाट आएको जानकारी दिनुभयो । उनीहरु रोजगारीका लागि भारत गएका थिए । यसअघि भारतबाटै फर्किएका मायादेवी गाउँपालिकाका ४ जना र शुद्धोधन गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

शनिबार संकलन गरिएकामध्ये ९९ जनाको स्वाब परीक्षण गर्दा १० जना संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख योगेन्द्र भगतले बताउनुभयो । अझै १ सय ९१ जनाको रिपोर्ट आउन बाँकी छ ।