जनता टाइम्स

३१ बैशाख २०७७, बुधबार १४:३१

‘मन्त्री-सांसद र नेताले फैलाए कोरोना संक्रमण’


काठमाडौं, बैशाख ३१ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रामनारायण विडारीले मन्त्री, सांसद र नेताले कोरोना सारेको दावी गर्नुभएको छ । सांसद विडारीले राहत बाँड्ने नाममा गाउँ गाउँमा मान्छे जम्मा गरेर मन्त्री सांसद र नेताहरुले सांसदहरुले कोरोना संक्रमण फैलाएको बताउनु भएको हो । राहतका कार्यक्रम स्थानीय तहबाट व्यवस्थित रुपमा वितरण हुनुपर्ने भएपनि कसैले नपएजस्तो गरी नेताहरु गएर कोरोना संक्रमण फैलाएको उहाँको भनाइ छ ।

‘नेता हुँ भनेर राहत बाँडन ट्रयाक सुट टाई लाएर गाउँगाउँमा गएर मान्छे जम्मा पारेर कोरोना कोरोना संक्रमित गराउने काम सांसदले गरे, नेताले गरे, मन्त्रीले गरे । मन्त्री, सांसद र नेताहरुले कसैले नपाएको जस्तो गरी राहत बाँडे अरे,’ सांसद विडारीले भन्नुभयो, ‘राहत भूकम्पको बेलामा बाँडने हो । राहत बाढी पिडित भएको बेलामा बाँडने हो । अहिलेको राहत लोकल सरकारले बाँडने अरुले बाँडने होइन् । लोकल सरकारको पनि वडा अध्यक्षले बाँडने हो । वडा अध्यक्षले पनि होइन वडा सदस्यले बाँडने हो ।’

राहत वितरणको आधार के हुने ? कुन व्यक्तिलाई राहत दिने ? भन्ने कुरा कानुन बनाएर लागू गर्ने भए पनि त्यसो हुन नसकेको पनि उहाँको भनाई छ । अहिलेको अवस्थामा स्थानीय तहमा उत्पादन भएका तरकारी, दुध र अण्डा सरकारले किनेर जनताको घरमा पुर्याउनुको सट्टा गफ गरेर नहुने बताउनु भयो ।