जनता टाइम्स

१ जेष्ठ २०७७, बिहीबार ११:५९

शल्यक्रिया गर्न लाग्दा कोरोना भेटिएपछि टिचिङको इएनटी वार्ड सिल


काठमाडौं, जेठ १

त्रिवि शिक्षण अस्पतालमा एक बालिकाको शल्यक्रिया गर्न लाग्दा कोरोना संक्रमण भेटिएको छ । कपिलबस्तुबाट आएकी ६ वर्षीया बालिकामा आज विहान कोरोना पुष्टि भएको हो । टिचिङको नाक, कान, घाँटी रोग विभाग (ईएनटी)मा उपचार गरिरहेकी उनमा कोरोना देखिएपछि न्युरो वार्ड सिल गरिएको छ ।

अस्पतालका कार्यकारी प्रेमकृष्ण खड्गाका अनुसार उनलाई नाक, कान, घाँटी विभागमा जाँचपछि शल्यक्रियाका लागि भर्ना गरिएको थियो । ३० वैशाख भर्ना भएकी उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । कपिलवस्तु वाणगंगा नगरपालिका–४ ठाकुरापुर गाउँ घर भएकी ती बालिकालाई श्‍वासनलीमा मासु पलाएपछि शल्यक्रियाका लागि काठमाडौं ल्याइएको थियो ।

‘अन्त अप्रेसन गराउन सम्भव हुँदैन । ३–४ दिनअघि यहाँ ल्याएर भर्ना गरिएको थियो’, अस्पताल प्रशासन स्रोतले भन्यो, ‘नाक, कान र घाँटीका बिरामी राख्‍ने भवनमा कोरानाका बिरामीको उपचारका लागि छुट्याइएकाले न्यूरो वार्डमा भर्ना गरिएको थियो ।’

उनको उपचारमा खटिएका र त्यहा सम्पर्कमा आएका सबैको स्वाब संकलनको तयारी गरिएको छ । उनको सम्पर्कमा आएका सबैको खोजी कार्य शुरु भएको बताइएको छ ।