जनता टाइम्स

१ जेष्ठ २०७७, बिहीबार १३:५५

कोरोना संक्रमित ६ वर्षिया बालिका डेरीको गाडी चढेर काठमाडौं आएको खुल्यो


काठमाडौं, जेठ १

कोरोना संक्रमण पुष्टि भएकी कपिलवस्तुको वाणगंगा नगरपालिका ४ की ६ वर्षीय बालिका दूध डेरीको गाडीमा काठमाडौं आएको खुलेको छ ।

घाँटीमा समस्या भएपछि २७ वैशाखमा बालिका सहित चार जना नजिकैको दूध डेरीको गाडीमा उपचारका लागि काठमाडौं आएका थिए ।

बालिकाको घाँटीमा मासु पलाएपछि पहिला पनि काठमाडौंको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उनको सल्यक्रिया भएको थियो । पुनः बालिकामा घाँटी दुख्ने समस्या बल्झिएपछि उनका अभिभावकले उनलाई उपचारका लागि काठमाडौं ल्याएका थिए ।

उपचारका क्रममा कोरोना चेकजाँच गर्दा बिहीबार उनमा कोरोना पुष्टि भएको हो । लु १ क ३२३९ नम्बरको गाडीमा बालिका सहित उनका दुई जना अभिभावक र तीन जना डेरीका कर्मचारी समेत थिए ।

बालिकामा कोरोना भेटिएपछि कपिलवस्तुको वाणगंगा ४ ठाकुरापुर स्थित डेरीमा प्रहरीले सिल गरेको छ । चालकलाई होम क्वारेन्टाइनमा राखिएको छ । ठाकुरापुर पूर्व पश्चिम राजमार्गको चार नम्वर देखि करिव ३ किमि दक्षिणमा पर्दछ।