जनता टाइम्स

४ जेष्ठ २०७७, आईतवार १९:४४

प्रदेश–१ मा फेरी तीन जनामा देखियो कोरोना


विराटनगर, जेठ ४

प्रदेश–१ मा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार मोरङका दुई र धनकुटाका एक जनामा कोरोना देखिएको हो ।

प्रदेश–१ का आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीका अनुसार मोरङको विराटनगरकी एक महिला र एक पुरुष साथै धनकुटाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भयो । धनकुटाको ३४ वर्षीय महिला, विराटनगरका ३५ वर्षीय पुरुष र २९ वर्षीय महिलामा कोरोना पुष्टि भएको बताईएको छ ।

प्रदेश १ मा कोरोना भाइरस पुष्टि भएकाको जम्मा संख्या ३९ पुगेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको कोरोना सूचना डेस्कले जानकारी दिएको छ । प्रदेश १ मा निको हुनेको जम्मा संख्या १७ रहेको छ । यस अघि उदयपुर, झापा, भोजपुर र मोरङमा कोरोना संक्रमित देखिएका थिए भने आइतबार नयाँ जिल्ला धनकुटा पनि थपिएको छ ।