जनता टाइम्स

६ जेष्ठ २०७७, मंगलवार १२:०१

चीनबाट सेनाले ल्यायो १९ टन स्वास्थ्य सामग्री, केही दिनमै प्रदेशमा पठाइने


काठमाडौं, जेठ ६

नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री नेपाल आउन थालेको छ । मंगलबार विहान नेपाल वायु सेवा निगमको वाइगबडी विमानले १९.४५ टन अर्थात् १७ हजार ६ सय ५१ किलो स्वास्थ्य सामग्री काठमाडौं ल्याएको हो ।

चीन सरकारसँग सेनाले जीटूजी प्रक्रियामार्फत खरिद गरेको पहिलो लटको सामान लिन हिजो राति वाइडबडी विमान चीनको गोन्जाओ प्रस्थान गरेको थियो । आज बिहान सामान काठमाडौं आइपुगेको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।

सेनाले पहिलो लटमा परीक्षण किट, पीपीई, एन–९५ मास्कलगायत अत्यावश्यक सामान ल्याएको छ । स्थलमार्गबाट भने यसअघि नै १० वटा कन्टेनरमा सामान ल्याइसकिएको छ । सैनिक प्रवक्ता पाण्डेले अर्को चार्टर विमान पनि छिट्टै चीनतर्फ पठाइने बताउनु भयो । योसँगै अब स्वास्थ्य सामग्रीको अभाव हटेको बताइएको छ ।

संक्रमण देखिएका प्रदेश र स्थानीय तहमा अब आवश्यक पर्ने सामग्री केही दिनमै पठाउने सरकारले जनाएको छ ।