जनता टाइम्स

८ जेष्ठ २०७७, बिहीबार १२:३७

कतारी नागरिकको हत्या आरोपमा एक नेपालीलाई मृत्युदण्ड


काठमाडौं, जेठ ८

कतारी नागरिकको हत्या गरेको आरोपमा एक नेपालीलाई कतारमा मृत्युदण्ड दिइएको छ । त्यहाको सर्वोच्च अदालतको आदेश अनुसार महोत्तरी, औराही–१ का अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिइएको हो ।

कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या गरेको ठहर गर्दै चौधरीलाई मृत्युदण्डको फैसला सुनाइएको थियो । तल्लो अदालतको फैसलालाई सर्वोच्च अदालतले पनि अनुमोदन गरेपछि जेल प्रशासनले मृत्युदण्डलाई कार्यान्वयन गरेको हो । उनलाई माफी दिनको लागि पीडित परिवारले अस्वीकार गरेको थियो ।

मृत्युदण्डको कार्यान्वयन गर्नु एकदिन अगाडि मात्रै कतारले नेपाली दूतावासलाई जानकारी दिइएको थियो । सूचना पाएलगत्तै दूतावासले परराष्ट्र मन्त्रालयलाई मृत्युदण्डको कार्यान्वयन रोक्नका लागि पत्र पठाएको थियो ।

चौधरीले कतारी नागरिक अल नुएमीलाई खुकुरी प्रहार गरी हत्या गरिएको अदालतको फैसलामा उल्लेख छ । उनले नुएमीमाथि दर्जनौं पटक खुकुरी प्रहार गरेको उल्लेख छ । हत्या गरेको अभियोगमा उनलाई सन् २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ परेका थिए । कुनै पनि नेपालीमाथी त्यहाको अदालतले सुनाएको यो नै कठोर सजाय भएको बताइएको छ ।