जनता टाइम्स

८ जेष्ठ २०७७, बिहीबार १६:४५

झापाका ८ संक्रमित पनि कचनकवलकै, विराटनगरको कोशी कोरोना अस्पताल पठाउने तयारी


भद्रपुर, जेठ ८

झापाको कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २३ जना युवामा कोरोना भाइरस देखिएको छ । जेठ ४ गते भारतका विभिन्न शहरबाट स्वदेश आएका उनिहरुलाई सुरक्षाकर्मीले सिधै क्वारेन्टाइन लगेर राखेको थियो ।

बिहीबार बिहानका १५ जना दिउसो थपिएका आठ जना गरी यो गाउँपालिकामा मात्रै सङ्क्रमितको सङ्ख्या ३३ पुगेको छ । झापामा भने संक्रमतिको सङ्ख्या ३५ पुगेको हो । त्यसमध्ये मङ्गलवार १, बुधवार ९ र बिहीबार २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । क्वारेन्टाइनमा बसेका कोरोना पुष्टि भएका २३ जनालाई चार वटा एम्बुलेन्समा हालेर कोशी अस्पताल विरागटनर पठाउने तयारी भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिनुभयो ।

बिहीबार देखिएका २३ जना नै पुरुष रहेका छन् । त्यसमध्ये वडा नम्बर ३ का नौ जना, वडा नम्बर ४ का दश जना, वडा नम्बर ५ का तीन जना र वडा नम्बर ६ का एक जना रहेको बताइएको छ । उनीहरूको उमेर १८ देखि ४६ वर्षसम्मका हुन् । उनीहरू सबै जना जेठ ४ गते भारतको दिल्ली, मुम्बईबाट आएका हुन् ।