जनता टाइम्स

१२ जेष्ठ २०७७, सोमबार १४:५३

गण्डकीमा दुई हजारको पिसिआर जाँचमध्ये अधिकाशंको नेगेटिभ


पोखरा, जेठ १३

गण्डकी प्रदेशमा हालसम्म कोरोना जाँच अन्तर्गत दुई हजार ४५ को पिसिआर जाँच भएको छ । ती मध्ये दुई हजार ११ को जाँचको नतिजा नेगेटिभ आएको, बाँकी २९ को रिपोर्ट आउन बाँकी रहेको र दुई जनाको पोजेटिभ नतिजा आए पनि निको भएर घर फर्किसकेका प्रदेशका स्वास्थ्य निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

नवलपुरका दुई जनाको भरतपुरमा र लमजुङका एक जनाको काठमाडौँमा सङ्क्रमण देखिएको हो । दुई जना भरतपुर अस्पताल र एक जना टेकु अस्पताल काठमाडौमा उपचार भइरहेको जनाइएको छ । त्यसैगरी आरडिटी जाँच आठ हजार २१८ जनाको गरिएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि प्रदेश सामाजिक विकास मन्त्रालयले जटिल अवस्थाका बिरामीको व्यवस्थापनसम्बन्धी तालिमसमेत सम्पन्न गरेको छ ।

एनस्थेसियोलोजिष्ट डा हरि पौडलले उक्त तालिमको सहजीकरण गर्नुभएको थियो । तालिममा स्याङ्जा, गोर्खा, नवपुर, तनहुँ, लमजुङ अस्पतालका ३२ जना चिकित्सक र स्वास्थ्यकर्मीको उपस्थिति रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोनासँगै प्रदेशमा अन्य पाँच प्रकारका रोगसमेत देखिन थालेपछि सचेतनामूलक कार्यक्रमलाई जोड दिइएको छ । गोर्खा र कास्कीमा मलेरिया पोजेटिभ, गोर्खामा नै दादुरा तथा म्याग्दीमा स्क्रबटाइफस देखिएको छ । डेङ्गु म्याग्दी, कास्की र स्याङ्जामा जिल्लामा देखिएको छ ।