जनता टाइम्स

१४ जेष्ठ २०७७, बुधबार ०७:२०

निको भएर घर फर्किए वीरगन्जका २१ कोरोना संक्रमित


वीरगन्ज, जेठ  १४  । नारायणी अस्थायी कोभिड अस्पतालबाट मंगलबार २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । डिस्चार्ज हुनेमा ४ जना महिला र १६ जना पुरुष छन् । डिस्चार्ज हुने सबैजना वीरगन्ज महानगरपालिकाका स्थानीय हुन् । पछिल्लो दुईवटा पीसीआर रिर्पोट नेगेटिभ आएपछि २१ जनालाई डिस्चार्ज गरिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिनुभयो । गत वैशाख २७ र ३० गते कोभिड–१९ पुष्टि भएदेखि उनीहरूलाई आइसोलेसनमा राखिएको थियो ।

नारायणी अस्पतालको आइसोलेसन वार्डमा बेड अभाव भएकाले २१ जना संक्रमितलाई संक्रमण भएको पहिलो २ दिन घरमै सेल्फ आइसोलेसनमा राखेको थियो । त्यसपछि सिद्धार्थ माध्यमिक विद्यालयलाई सेमी आइसोलेसनमा परिणत गरी २१ जना संक्रमितलाई त्यहाँ राखिएको थियो । वीरगन्ज महानगरपालिकाले यहाँको गण्डक अस्पतालसँग सम्झौता गरी त्यसलाई अस्थायी कोभिड अस्पताल बनाएपछि गत वैशाख ७ गते सिद्धार्थ माविको सेमी आइसोलेसनबाट २१ जना संक्रमितलाई सारिएको थियो ।

गण्डक अस्पताल अहिले नारायणी अस्थायी कोभिड अस्पतालको रूपमा सञ्चालन भइरहेको छ । अस्थायी अस्पतालमा ३० जना संक्रमित भर्ना भएका थिए । ‘२१ जना डिस्चार्ज भएपछि अब ९ जना कोरोना संक्रमित मात्र बाँकी छन्,’ डा. उपाध्यायले भन्नुभयो ‘उनीहरूमा पनि कोरोनाको कुनै लक्षण देखिएको छैन । स्वास्थ्य अवस्था सामान्य छ ।’

यसअघि नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । सबै संक्रमित डिस्चार्ज भइसकेकाले नारायणी अस्पताल कोरोना मुक्त भइसकेको छ । नारायणी अस्पतालमा पुनः जनरल सेवा सुचारु गर्ने तयारी भइरहेको छ ।