जनता टाइम्स

८ जेष्ठ २०७६, बुधबार १३:३९

संसदमा महेश बस्नेतको व्यंग्य : तीस वर्षसम्म टिकिरहोस कांग्रेसको छाँया सरकार


काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका सांसद महेश बस्नेतले नेपाली कांग्रेसको छाँया सरकार ३० वर्षसम्म टिकिरहोस् भनेर शुभकामना दिनुभएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले गठन गरेको छायाँ सरकारमाथि प्रतिनिधिसभाको शुन्य समयमा व्यंग्य गर्दै उहाले छायाँ सरकारका मन्त्रीको कार्यकाल २०–३० औं वर्ष चलोस् भनेर कटाक्ष गर्नुभयो । साथै उहाले आफ्ना मन्त्रीहरुलाई संसदीय अभ्यास, पद्धति र शैली सिकाउन पनि सुझाव दिनुभयो ।

यस्तो थियो उहाको भनाई –

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छाँया सरकार बनायो भनेर सुनियो । कतिपय बुद्धिजिवीले सत्ता स्वाद बाहिर रहन नचाहने कांग्रेसको स्वभावका कारण यो सरकार गठन भयो भनेर विश्लेषण पनि गरे, म त्यो विश्लेषणसँग सहमत छैन । कांग्रेसले सम्वाद र सहकार्यको अभियान अगाडी बढाउनको निम्ती यो सरकार बनायो भन्ने मेरो बुझाई छ । कांग्रेसले सम्वाद र सहकार्यको प्रक्रियालाई अगाडी बढाओस्, रचनात्मक प्रतिपक्षको भूमिका खेलोस् र आलोचनात्मक समर्थम गरेर अगाडी जाओस् भनेर म भन्न चाहान्छु ।

छाँया र दायाबाया गरेर झण्डै ४८ सदस्यीय मन्त्रीमण्डल बनाएको रहेछ । म सबै मन्त्रीज्यूहरुलाई हार्दिक बधाई र शुभकामना दिन चाहान्छु । उहाहरुको कार्यकाल २० वर्ष ३० वर्षसम्म कायम रहोस्, यो पनि म शुभकामना दिन चाहान्छु । यसो मन्त्रीज्यूहरुको अनुहार हेर्दा खेरी संसदीय अभ्यास, पद्धति र शैली स्वयम मन्त्रीज्यूहरु सिकाएर यो मन्त्रिमण्डलले आफ्नो पहिलो काम शुरु गरोस् भन्ने कुरा शुभकामना दिन चाहान्छु धन्यवाद ।