जनता टाइम्स

१८ जेष्ठ २०७७, आईतवार २१:५९

सरकारको नि:शुल्क विद्युत कार्यक्रमले ८ लाख परिवार लाभान्वित


काठमाडौं, जेठ १८

सरकारले बजेटमा समावेश गरेको मासिक १० युनिटभन्दा कम विद्युत खपत गर्ने ग्रार्हस्थ ग्राहकलाई निःशुल्क विद्युत उपलब्ध गराउने घोषणाले ८ लाख परिवार लाभान्वित हुने भएका छन् । नेपाल विद्युत प्राधिकरणको तथ्यांक अनुसार १० युनिट भन्दा कम रकम तिर्ने ग्राहकको सख्या ८ लाख रहेको छ ।

करिब ४१ लाख ग्रार्हस्थ ग्राहकमध्ये मासिक १० युनिटभन्दा कम विद्युत खपत गर्ने ग्राहक ८ लाख रहेका छन् । अर्थमन्त्री युवराज खतिवडाले बिहीबार संसद्‌मा प्रस्तुत गरेको बजेटमा मासिक १० युनिटभन्दा कम विद्युत खपत गर्नेलाई निःशुल्क विद्युत उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । विपन्न ग्राहकलाई राहत दिने उद्देश्यले निःशुल्क विद्युत उपलब्ध गराउन लागिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बताउनु भयो । यो घोषणा साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ ।

सरकारले मासिक १ सय ५० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकलाई २५ प्रतिशत र मासिक २ सय ५० युनिटसम्म खपत गर्नेलाई १५ प्रतिशत छुट दिने निर्णय पनि लकडाउन अवधिभरका लागि कायमै राखेको छ । खानेपानीका लागि प्रयोग हुने बिजुलीको डिमान्ड चार्ज (न्यूनतम शुल्क) मा छुट दिने व्यवस्था पनि बजेटमा गरिएको छ ।