८ जेष्ठ २०७६, बुधबार ००:००

बिहेको ८ दिन अघि बेहुलाले गरे आत्महत्या


महोत्तरी, जेठ ८

महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका-७ मेघनाथ गोरहन्ना गाउँमा विवाह हुनुभन्दा आठ दिन पहिले मङ्गलबार दुलहाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आउँदो जेठ १५ गते विवाह हुन लागेको भङ्गहा नपा-७ बस्ने जयनारायण महराका छोरा २२ वर्षीय सुवोधकुमार महराले आत्महत्या गरेका हुन् ।

महराको शव घरभन्दा ५०० मिटर परको जङ्गलमा रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो । युवक महराको विवाहको सबै तयारी पूरा भइसकेर घरमा मटकोर पूजा (बिहेअघिको विशेष विधि) समेत भइसकेको थियो । यही जेठ १५ गते छिमेकी गाउँ औरही नगरपालिका–७ मा जन्ती गएर विवाह गर्न मात्रै बाँकी रहँदा अचानक शव फेला परेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

घरायसी तनावका कारण युवकले आत्महत्या गरेको हुनसक्ने आशङ्का गर्दै प्रहरीले मृतक युवकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाएको तथा घटनाबारे अनुसन्धान भइरहेको जिप्रका महोत्तरीले जनाएको छ ।