जनता टाइम्स

२२ जेष्ठ २०७७, बिहीबार १२:५९

क्रुर ! मानवलाई मानवता सिकाउदै मृत्युलाई आत्मसात गरेकी हात्तिको कहानी


काठमाडौं, जेठ २२

हात्तिको कहानी ! समाचारको शुरुवात कहानी अर्थात कथा भनेर शुरु गर्नुको अर्थ यो हात्ति अब जिवित छैन । फोटोमा देखिएजस्तै नदिमा हात्ति आफ्नो सुड पानीमा डुबाएर मृत्युको पर्खाईमा बसेको देखिन्छ ।

घटना भारतको केरलाको मलपुरम जिल्लाको हो । यो नजिकैको पलकपुर जिल्लासँग पनि जोडिएको छ । किनकी त्यहा रहेको निलगिरी पहाडमा साइलेन्ट भ्याली नेश्नल पार्क रहेको छ । सो हात्ति सोही जंगलमा रहने गरेको थियो ।

घुम्दै घुम्दै सो हात्ति मानिस बस्ने गाँउमा आईपुग्यो । गाँउमा आईपुग्नु नै सो हात्तिको जिवनको सबैभन्दा ठुलो अभिसाप बन्यो । स्थानीयले उक्त हात्तीलाई भित्र विस्फोटक पदार्थ हालेर भुइँकटहर खुवाएका थिए । केही भुइँकटहर हात्तीको मुखमै पड्किएका थिए, केही भित्र गए । जसले हात्तिमा जलनको निक्कै ठुलो पिडा खेप्नुपर्यो ।

वन अधिकारीहरूले उक्त हात्तीबारे जानकारी सामाजिक सञ्जालमा राखेपछि उसमाथि मानव नामक चेतनशिल भनिने जाति गरेको क्रुरता बाहिर आएको छ । बन अधिकारीले सो हात्तिको विषयमा सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । ‘उसले सबैलाई विश्वास गरी। जतिबेला उसले खाएका भुइँकटहरहरू पड्किन थाले सायद ऊ आफ्नाबारे होइन १८–२० महिनामा आफूले जन्म दिन लागेको बच्चाकाबारे सोचेर दुखित भई होली,’ वन अधिकारी मोहन क्रिसनले फेसबुकमा लेखेका छन् ।

क्रिसन उक्त हात्तीको उद्धारका लागि बनाएको र्‍यापिड रेस्पोन्स टिममा पनि थिए । मुखमै विस्फोटक पदार्थ पड्किदा पनि उसले मानवबस्तीमा कुनै क्षति भने पु¥याइन् । जसले उसको ज्यान लिन निक्कै अमानविय कार्य गरे उसैलाई मानवताको शिक्षा दिदै नजिकैको नदीमा गई । ‘छटपटाउँदै गाउँभरि हिँड्दा पनि उसले कसैलाई आक्रमण गरिन, कसैको घरमा भत्काइन। मलाई लाग्छ ऊ ज्ञानी थिई,’ क्रिसनले हात्तीको तस्बिर राख्दै फेसबुकमा लेखेका छन्।

पछि हात्ती भेलियार नदीमा गई र पानीमै उभिई । हात्ती नदीमा सुँड र मुख डुबाएर उभिएको तस्बिरहरूमा देखिन्छ । नदीमा यसरी ऊ तीन दिनसम्म उभिइरही । यसो गर्दा शरीरभित्रको उसको जलन अलि कम हुन्थ्यो होला। वन अधिकारीहरूले मुखको घाउमा आउने झिँगा र अरू किरा हटाउन पनि उसले सुँड डुबाएको हुन सक्ने बताएका छन् ।

पछि वन अधिकारीहरूले सुरेन्द्रन र नीलकण्ठ नाम दिइएका दुई घर पालुवा हात्तीलाई ल्याएर उसलाई नदीबाट निकाल्न खोजेका थिए । उनीहरू हात्तीको शल्यक्रिया गर्न चाहन्थे । ‘सायद उसलाई आफू मर्छु भन्ने थाहा थियो होला । हामीलाई केही गर्न दिइन,’ क्रिसनले लेखेका छन् ।

वन अधिकारीहरूले उद्धारका लागि घन्टौं गरेको प्रयासका बावजुद् मे २७ को दिउँसो ४ बजे उसले प्राण त्यागी । त्यसपछि वन अधिकारीहरूले उसको मृत शरीरलाई ट्रकमा राखेर जंगलमा ल्याए । जंगलमै उनीहरूले उसको शव जलाए ।
साइलेन्ट भ्याली नेशनल पार्क, पलक्कडका वाइल्डलाइफ़ वार्डन सेमुअल पचाऊले हात्तीको मृत्युको विषयमा मुद्दा दर्ता भइसकेको जानकारी दिएका छन् । कानुनले आफ्नो बाटो त लिन्छ होला तर, हाम्रो भडकिएको मानवता सहि बाटोमा कहिले आउला ।