जनता टाइम्स

२२ जेष्ठ २०७७, बिहीबार १३:११

मलेसियाको विमानस्थलमा अलपत्र नेपाली उद्धार पछि भन्छन्, ‘यो गुन जिन्दगीभर सम्झिनेछु’


काठमाडौँ, जेठ २२

मलेसियाको विमानस्थलमा लामो समयदेखी अलपत्र परेका एक नेपालीलाई उद्धार गरेर स्वदेश ल्याइएको छ । टर्मिनल भित्रै ७० दिनदेखि प्रतीरक्षारत नवलपरासीका प्रीतम दर्लामीलाई उद्धार गरी बुधबार नेपाल ल्याइएको हो ।

क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का कर्मचारी लैजान चार्टर गरिएको मलेसियन एयरलाइन्सको जहाजमा उनलाई नेपाल पठाइएको हो । बुधबार दिउँसो साढे ३ मा त्रिभुवन विमानस्थलमा आइपुगेका प्रीतमलाई नेपाली सेनाले कीर्तिपुरस्थित क्वारेन्टाइनमा राखेको छ ।

‘७० दिनदेखि एक्लै विमानस्थलको टर्मिनलमा बस्दा दर्लामीको स्वास्थ्य अवस्था बिग्रिसकेको थियो । नेपालमा विमान जान लागेको खवर पाएको १८ घण्टाभित्र सरकारसँग समन्वय गरी पठाउन सफल भयौं’, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने, ‘लकडाउनपछि नेपाल पठाइएका उनी पहिलो नेपाली हुन् ।’

विमानस्थलभित्र रहेको रेस्टुरेन्टसमेत बन्द भएपछि उनलाई खाना खानै समस्या पर्‍यो । दूतावासले नै नियमित रूपमा बाहिरबाट चिउरा, चाउचाउ र नगद दिँदै आएको थियो । ‘भित्र सुरक्षागार्ड थिए । उनीहरूलाई पैसा दिएपछि बाहिरबाट खाना ल्याइदिन्थे’, उनले भने । दर्लामीले नेपाल फर्कन कुनै शुल्क भने तिर्नुपरेन । ‘मैले दूतावासबाट ठूलो सहयोग पाएँ । यो गुनलाई जिन्दगीभर सम्झिनेछु’, उनले भने ।