जनता टाइम्स

२३ जेष्ठ २०७७, शुक्रबार ११:३२

म्यानमारबाट नेपाली आइपुगे, युएईबाट आउनेको भने अन्यौल


काठमाण्डौ, जेठ २३

लकडाउनका कारण अलपत्र परेका २६ जना नेपाली म्यानमारबाट काठमाडौं आइपुगेका छन् । बिहान १० बजेर ५० मिनेटमा म्यानमारबाट आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । म्यानमारले आफ्नै खर्चमा नेपालीको उद्धार गरिदिएको हो । फर्किदा उसले यहा रहेका आफ्ना नागरिक लिएर जानेछ ।

यसैबीच, युएईबाट फर्किन लागेको नेपालीको विषयमा भने अन्तिम समयमा आएर अन्यौल उत्पन्न भएको छ । नेपालीले विमानस्थल पुगेर बोर्डिङपास लिने क्रम सकिएपनि जहाज र पिसिआर जाँचको विषयले समस्या देखिएको छ ।

इजादा फ्यासिलिटी म्यानेजमेण्ट कम्पनीका ६७ जना र ट्रन्सगार्ड सेक्युरिटी कम्पनीमा सेक्युरिटीको काम गर्ने ७९ जना अहिले यूएईको सारजहा विमानस्थलमा रहेका छन् । जाँच हुने नहुने भनेर अहिलेसम्म पनि निश्चित नहुँदा उनीहरुको उडान हुन्छ कि हुँदैन भन्ने टुंगो लागेको छैन ।

सरकारले विदेशबाट फर्काइने नेपालीको साथमा कोरोना जाँचको रिपोर्ट अनिवार्य हुनुुपर्ने मापदण्ड बनाएको छ । तर यूएईले आफ्नै खर्चमा एकसय ६८ सिट क्षमताको जहाजमार्फत पठाउने भनिएको उडान भने हुन सकेन । अहिले विमानस्थलमा पुगेका नेपालीहरु भने साथमा पैसा, पासपोर्ट र टिकट हुनेहरु हुन् ।

उनीहरुलाई टिकटको व्यवस्था कम्पनीले गर्‍यो या आफैं टिकट काटे भन्नेबारे खुलेको छैन ।