जनता टाइम्स

२५ जेष्ठ २०७७, आईतवार ०७:४१

भारतमा कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार नाघ्यो


 

काठमाडौं, जेठ २५ । भारतमा कोरोना भाइरसका संक्रमित दैनिक ९ हजारका दरले बढ्न थालेका छन् । कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार नाघेको भारतमा केही दिन यता दैनिक संक्रमण पुष्टि हुनेको संख्या ९ हजार कट्न थालेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १० हजार ४३८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ४६ हजार ६२२ पुगेको छ । एकै दिन अरू २९७ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ६ हजार ९४६ पुगेको छ ।

यसअघि शुक्रवार ९ हजार ४७१ जना संक्रमित थपिएको भारतमा बिहिबार पनि ९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो ।

भारत कोरोना भाइरस संक्रमितका आधारमा एसियामा सबैभन्दा बढी प्रभावित मुलुक हो । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख १३ हजार २३३ जना संक्रमणमुक्त भएका छन् ।

कोराना भाइरस ९कोभिड–१९० को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।

कुन ठाउँमा सबैभन्दा बढी प्रभावित

सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा २४ घण्टामा २ हजार ७३९ जना संक्रमित बढ्दा ८२ हजार ९६८ पुगेका छन् । त्यस्तै मृतक १२० बढेर २ हजार ९६९ पुगेका छन् ।

तमिलनाडुमा १ हजार ४७६ जना बढेर ३० हजार १७२ जना संक्रमित हुँदा मृतक २५४, दिल्लीमा १ हजार ३२० जना बढेर २७ हजार ६५४ जना संक्रमित हुँदा मृतक ७६१, गुजरातमा ४९८ बढेर १९ हजार ६१७ जना संक्रमित हुँदा १ हजार २१९ को ज्यान गएको छ । भारतपछि कोरोनाले ग्रस्त बनेको मुलुक पाकिस्तान हो। त्यहाँ ९३ हजार ३८३ संक्रमित भएका छन् भने १ हजार ९ सय ३५ जनाको ज्यान गएको छ ।