जनता टाइम्स

२५ जेष्ठ २०७७, आईतवार १३:०९

सुनको भाउमा ऐतिहासिक रेकर्ड


काठमाडौं, जेठ २५

साढे दुई महिनापछि नेपालमा सुनचाँदीको मूल्य तोकिदा ऐतिहासिक रेकर्ड राखेको छ । नेपाली बजारमा आज सुनको भाउ प्रतितोला ८७ हजार ४ सय पुगेको छ । लकडाउन लागू भएपछि अर्थात चैत ११ गतेयता आज पहिलो पटक सुनको मूल्य तोकिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुन (फाइन गुणस्तर)को मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ पुगेको छ । यसअघि चैत १० गते ७७ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । नेपालमा लकडाउन भइरहँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेकाले नेपालमा आइतबार एक्कासी ठूलो प्रभाव परेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि प्रतितोला २०५ रुपैयाँले बढेको छ । चैत १० गते प्रतितोला ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ९२५ रुपैयाँ पुगेको छ । अब दैनिक रुपमा अन्तर्राष्ट्रिय बजारअनुसार सुनचाँदीको मूल्य निर्धारण गरिने महासंघले जनाएको छ ।