जनता टाइम्स

२९ जेष्ठ २०७७, बिहीबार १२:१४

भारतले अब राजनीतिकस्तरमा नेपालसँग वार्ता थाल्नुपर्छ – पूर्वराजदूत सुद


काठमाडौं, जेठ २९

नेपालका लागि भारतका पूर्व राजदूत राकेश सुदले नेपालसँग वार्तामा तत्काल बस्नुपर्ने बताउनु भएको छ । उहाले भारतले वार्ताबाट आलटाल गर्न नमिल्ने बताउदै अब राजनीतिक वार्ता हुनुपर्ने समेत स्पष्ट पार्नुभयो ।

बिबिसी हिन्दीसँगको अन्तवार्तामा उहाले विदेश सचिवस्तर भन्दा माथि उठेर अब राजनीतिक स्तरमा दुई देशबीच वार्ता हुनुपर्नेमा जोड दिनुभयो । सूदले भन्नुभएको छ, ‘कूटनीतिक अधिकारी नै भेट भएर वार्ता गर्न सम्भव नभएको भए पनि टेलिफोन वा भिडियो कन्फ्रेन्स मार्फत वार्ता गर्नु पर्ने थियो, यसमा भारतको कमजोरी देखिएको छ ।’

तीन वर्ष राजदूतका रुपमा नेपाल रहनु भएका सुदले परिवेश र परिस्थिति जस्तो रहे पनि भारतको तर्फबाट केही कमजोरी भएका कारण नेपालले नक्सा जारी गरेको समेत धारणा राख्नु भएको छ । यद्यपी उहाले नक्सा जारी हुनुमा कसैको पनि हात नरहेको समेत बताउनु भयो ।

समयमा वार्ता हुनु पर्नेमा नभएको र भारतले कूतनीतिक वार्ताका लागि चासो नदिएको जस्तो देखिएका बेला लिपुलेक–लिम्पियाधुरामा भारतले बाटो उद्घाटन गर्दा नेपालको मनमा रहेको शंका यर्थाथमा परिणत भएकाले नक्सा जारी भएको हुन सक्ने उहाको विश्लेषण रहेको छ ।

नेपालले लिपुलेक–लिम्पियाधुरासहितको नक्सा जारी गर्नुमा चीनको भूमिका नरहेको बताउदै भन्नुभयो,‘चीनले लिपुलेक पासलाई भारतकै हिस्सा मान्ने गरेको छ । सोही अनुसार उसले भारतसँग व्यापारिक सम्झौता पनि गरेको छ । यसैले मलाई लाग्दैन कि नेपालले नयाँ नक्सा जारी गर्नुमा चीनको कुनै भूमिका छ ।’