काठमाडौं, जेठ ३१
प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको छ । उपस्थित २ सय ५८ सांसदमध्ये सबैले पक्षमा मतदान गरेका हुन् । प्रतिनिधिसभाको शनिबारको बैठकले भारतीय अतिक्रमणमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सालाई संविधानको अनुसूची ३ को निसान छापमा राख्ने विधेयक सर्वसम्मतिले पारित गरेको छ । सो मतदानमा १२ सांसद अनुपस्थित भएका छन् भने ५ जनाले मत हाल्न पाएनन् ।
२ सय ७५ सांसद रहेको प्रतिनिधिसभामा संविधान संशोधन विधेयकमाथिको मतदानका क्रममा १२ जना सांसद भने अनुपस्थित रहेका थिए । ४ जना सांसद भने निलम्बनमा छन् । सभामुखले विधेयकमाथिको मतदानमा सहभागिता जनाउँदैनन् ।
विधेयकमाथि मतदान नगर्ने सांसदमा अमृतादेवी अग्रहरी, गोपालबहादुर बम, दुलारीदेवी खत्वेनी, धनबहादुर बुढा, नागेन्द्रकुमार चौधरी, प्रमोद शाह, शिवकुमार मण्डल, सूर्यनारायण यादव, सूर्यबहादुर केसी, हरिबोल गजुरेल, सरिताकुमारी गिरी र ज्ञानकुमारी छन्त्याल रहेको संसद सचिवायलयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले संविधान संशोधन विधेयकमाथि भएको मतदानमा भोट हाल्न पाएनन् । बालुवाटार जग्गा प्रकरणमा दोषी भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा चलाएपछि गच्छदारको सांसद पद निलम्बनमा छ ।
राजपाका सांसद रेशमलाल चौधरीले पनि संविधान संशोधन विधेयकमा मतदान गर्न पाएनन् । २०७२ सालमा टीकापुरमा भएको घटनाको योजनाकारको रुपमा अदालतबाट सजाय पाएपछि उनी डिल्लीबजार जेलमा छन् । उनले गत वर्ष सांसदको शपथ गरेर लोगो लगाएका थिए ।
२०६४ सालको संविधानसभा चुनावको पूर्वसन्ध्यामा भएको विस्फोटका घाइतेलाई इँटाभट्टामा जलाएको आरोपमा नख्खु जेलमा रहेका कांग्रेस सांसद मोहमद अफ्ताव आलमले पनि आज मतदान गर्न पाएनन् ।
समाजवादी पार्टीका सांसद हरिनारायण रौनियारले पनि शनिवार संविधान संशोधन विधेयकमा भोट हाल्न पाएनन् । सरकारी ठेक्काको काममा बदमासी गरेको भन्दै उनीविरुद्ध अख्तियारले मुद्धा दायर गरेपछि उनको सांसद पद पनि निलम्बनमा छ ।
प्रतिक्रिया दिनुहोस्