जनता टाइम्स

३२ जेष्ठ २०७७, आईतवार १२:२४

नेपाली उद्धार गर्न वायु सेवा निगमको वाइडबडी बंगलादेशमा


काठमाडौं, जेठ ३२

सरकारले बंगलादेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन नेपाल वायु सेवा निगमको वाइडबडी विमान ढाका पठाएको छ । सो विमान सवा १२ बजे ढाको हजरत इन्टरनेश्नल अन्तर्राष्‍ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

सो विमान केही बेरमा दुई सय ५९ जना नेपालीलाई लिएर साढे दुई बजे त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । विदेशमा अलपत्र नेपालीलाई निगमका विमानले आजदेखि स्वदेश ल्याउन शुरु गरेको हो । नेपाली लिन विभिन्न देश जाने जहाज यताबाट प्रायः रित्तै जानेछन् ।

सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपालीलाई स्वदेश फर्काउने तालिका बनाएको छ । उनीहरू जुन महीनाभरिमा स्वदेश ल्याइसकिनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निगमलाई २४ र हिमालय एअरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको छ । यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान अनुमति दिइएको छ ।