जनता टाइम्स

३ असार २०७७, बुधबार ०९:१७

अतिक्रमित भुमि निरीक्षणका लागि प्रधानसेनापति थापा र सशस्त्र प्रहरी महानिरीक्षक खनाल छाङरु प्रस्थान


काठमाडौँ, असार ३ । प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी नजिकै स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सेनाको अस्थायी बेस निरीक्षणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाहरु काठमाडौंबाट स्काई ट्रकबाट धनगढीसम्म प्रस्थान गर्नुभएको छ त्यसपछि उहाहरु धनगढीबाट सेनाकै हेलिकप्टरमार्फत दार्चुलाको छाङरु जाने तयारी भएको छ । दुवै सुरक्षा प्रमुखले सीमा सुरक्षा र सीमाको अवस्थाबारे प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा प्रमुखसँग जानकारी लिने एक स्रोतले जानकारी दिएको छ ।

गत वैशाख ३१ गते सरकारले दार्चुलाको छाङरुमा सशस्त्रको बीओपी र जेठ ७ गते घाँटीबगरमा सेनाको अस्थायी बेस स्थापना गरेको थियो । सीमा सुरक्षाका लागि बीओपी र दार्चुला–तिंकर सडक निर्माण सुरक्षार्थ सेनाको अस्थायी बेस स्थापना गरिएको थियो । दुवै युनिट निरक्षणका लागि प्रधानसेनापति थापा र सशस्त्रका आईजीपी खनाल बुधबार बिहान त्यसतर्फ प्रस्थान गर्नुएभएको हो ।

भारतले सीमा अतिक्रमण गरेको क्षेत्रसहित दार्चुलाको अपि नाम्पा संरक्षण क्षेत्रमा समेत सेनाको टोली खटाउनेबारे छलफल भइरहेको छ । त्यस्तै नेपाल–चीन व्यापारिक नाका तिंकर भञ्ज्याङमा सशस्त्रको बीओपी स्थापना गर्ने पनि तयारी छ ।