जनता टाइम्स

३ असार २०७७, बुधबार १२:०८

स्वास्थ्य मन्त्रालयको निर्देशन : विरामी रिफर गर्दा सम्बन्धित अस्पतालसँग परामर्श अनिवार्य


काठमाण्डौ, असार ३

सरकारले बिरामीको उपचारका क्रममा रिफर गर्दा सम्वन्धित अस्पताल र चिकित्सकसँग परामर्श अनिवार्य गरेको हुनुपर्ने भएको छ । अहिले कोरोनाले गर्दा कतिपय अस्पतालले विरामी नहेरी विभिन्न अस्पतालमा आफुखुशी रिफर गरिरहेपछि सरकारले आवश्यक समन्वय गर्न अस्पताललाई निर्देशन दिएको हो ।

बिरामीलाई रिफर गर्दा उपचार नपाएर ज्यान गुमाउनु परेका घटनाबारे ध्यानाकर्षण भएको जनाउदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो निर्णय गरेको छ । सचिवस्तरमा भएको निर्णयअनुसार बिरामीलाई एउटा अस्पतालबाट अर्कोमा रिफर गर्ने बेला समन्वय नहुँदा बिरामी मर्कामा पर्ने गरेको, उपचारकै लागि २–४ वटा अस्पतालमा जानुपर्ने बाध्यता भएको र कतिपय अवस्थामा उपचार नै नपाएर बिरामीको ज्यान जाने गरेको घटनाहरुप्रति मन्त्रालयले सचेत बन्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयले सूचना निकालेर बिरामी रिफर गर्ने अस्पताल र डाक्टरलाई बढी जिम्मेवार बन्न आग्रह गरेको छ । साथै अस्पताल र डाक्टरले बिरामीलाई रिफर गर्दा रिफर गर्ने र रिफर भएको अस्पताल, डाक्टर र स्वास्थ्यकर्मीबीच प्रत्यक्ष समन्वय गर्न पनि भनिएको छ ।