जनता टाइम्स

४ असार २०७७, बिहीबार १८:१०

काठमाडौंको तीनकुने र बलुवाखानीमा पसल गर्ने व्यक्तिमा देखियो कोरोना


काठमाडौं, असार ४

काठमाडौंमा बिहीबार भेटिएका दुईजना कोरोना संक्रमित तीनकुने र बूढानीलकण्ठको रहेको खुलेको छ । स्वास्थ्य मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार काठमाडौंको तीनकुनेकी ३४ वर्षीया महिला अस्पताल पुगेपछि कोरोना देखिएको हो ।

असार १ मा उपचारका लागि त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल गएकी उनको शंका लागेपछि नमुना लिएर परीक्षण गर्दा कोरोना देखिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार उनको ट्राभल हिस्ट्री छैन । अहिले उनलाई पाटन अस्पतालको आइसोलसनमा भर्ना गरिएको छ ।

अर्का संक्रमित भने बूढानीलकण्ठ नगरपालिकास्थित बालुवा खानीका ४५ वर्षीय पुरुष रहेका छन् । उनी त्यहाँ किराना पसल सञ्चालन गर्दै आएका थिए । मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार उनको हाल सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा उपचार भइरहेको छ ।