जनता टाइम्स

५ असार २०७७, शुक्रबार १२:०१

बाँकेमा शुक्रबार एकैपटक ४१ जना संक्रमित डिस्चार्ज


नेपालगञ्ज, असार ५

बाँकेबाट शुक्रबार ४१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकी गाउँपालिकाको जोगागाउँ स्कूलमा बसेका ४१ जनालाई डिस्चार्ज गरिएको जानकारी दिनुभयो ।

उनीहरु १५ औं दिनमा घर जादैछन् । नकीको विभिन्न स्कूलमा रहेका उनीहरुलाई पोजिटिभ देखिएपछि जोगागाउँको नेरामाविमा राखिएको थियो । जहाँबाट एकजना फरार भएका छन् । उनी अहिलेसम्म भेटिएका छैनन् । प्रहरीले भारत गएको बताएको छ । ती व्यक्ति पनि डिस्चार्जको लिष्टमा परेका छन् ।

बाँकेमा यी ४१ सहित अहिलेसम्म २ सय ५० जना डिस्चार्ज भएको कोरोनाका फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो । उहाका अनुसार, अब आइसोलसन सेन्टरमा ८३ जना बाँकी रहेका छन् ।