काठमाडौँ, असार ५
राति राति हुने आवातजावतले कोरोना संक्रमण फैलिने क्रम देखिएपछि सरकारले रातमा हिँडडुल गर्न रोक लगाएको छ । अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको हो ।
कोरोना संक्रमणबाट कम प्रभावित क्षेत्रमा असार १ गतेदेखि लकडाउन खुकुलो बनाएको सरकारले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल र सवारीबाट राति हुने हिँडडुलमा रोक लगाएको छ । मापदण्ड कडाइका साथ पालना गराउन गृह मन्त्रालयले सुरक्षा निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
कोरोना संक्रमण विरुद्ध स्वास्थ्य मन्त्रालयले जारी गरेको ‘हेल्थ प्रोटोकल’को पूर्ण रुपमा पालना गराउन पनि भनिएको छ । यसका लागि सुरक्षा निकाय, सेवा प्रदायक, सेवाग्राहीको जिम्मेवारी, नागरिकको दायित्वसमेत उल्लेख गरेर मापदण्ड तय गरिएको छ । राति फिल्डमा खटिएका सुरक्षाकर्मीलाई छलेर एक जिल्लाबाट अर्को जिल्लामा अनुमति बिना यात्रु ओसारपसार हुन थालेपछि सुरक्षा जाँचमा थप कडाई गर्न पनि निर्देशन दिइएको छ ।
विवाह-ब्रतवन्ध मृत्यु-संस्कार चाडपर्व पूजापाठ लगायतका सामाजिक तथा साँस्कृतिक कार्यक्रम गर्नैपर्ने अवस्थामा १५ जनाभन्दा बढी भेला गर्न नपाइने प्रावधान राखिएको छ। यस्ता कार्यमा सामाजिक दूरी कायम गर्नुपर्ने समेत भनिएको छ।













प्रतिक्रिया दिनुहोस्