चितवन, असार ५
७४ वर्षको उमेर फोक्सोको क्यान्सर त्यसमाथी कोरोना संक्रमण । उहालाई लाग्यो, रोग जति सबै मलाई एकैचोटी लाग्यो । तर, कुनै जटिल खाले लक्षणबिना कोरोनामुक्त भएका हुनु भएका उहाले मनोबलले रोग परास्त हुने अनुभव गरेको बताउनु भयो ।
जेठ नौ गते कोरोना संक्रमण पुष्टि भएका भरतपुर महानगरपालिका–६ केशरबागका ७४ वर्षीय वृद्ध पीसीआर परीक्षण नेगेटिभ आएपछि शुक्रबार भरतपुर अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । क्यान्सरको उपचार गराउन दिल्ली गएर आउनु भएका उहालाई भरतपुर आएपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । ‘क्यान्सर रोगी र उनको श्रीमतीको बिहीबार आरटी पीसीआर परीक्षण गर्दा संक्रमण देखिएन । आज शुक्रबार डिस्चार्ज गर्यौं’ भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले भन्नुभयो ।
उपचारकै क्रममा कोरोना संक्रमण बढ्दै गयो । उहाको केमोथेरापी सुरु भइरसको थियो । पाँच पटक केमोथेरापी लिएपछि उहाले घर फर्कने निधो गर्नुभयो । भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारी ७५ वर्ष पुगेका, फोक्सोको क्यान्सर भएको र केमोथेरापी लिएका व्यक्तिलाई संक्रमण देखिनु ठूलो जोखिम भएको बताउनु भयो । तर उहाले सहजै संक्रमणलाई परास्त गरेको देख्दा औधि खुसी लागेको डा. अधिकारीले बताउनु भयो ।
‘म त क्यान्सरसँग युद्ध गर्दै गरेको मान्छे, कोरोना पनि थपियो । यस्तो रोगी र बुढो मान्छेले लौ के हो कसो हो भनेर चिन्ता मानेको भए जे पनि हुन सक्थ्यो । तर मैले यो कोरोनालाई जित्नै पर्दछ भन्ने मनमा प्रण गरेँ,’ वृद्धले भन्नुभयो । उहाले कोरोनाको अरु औषधि होला नहोला तर दृढ मनोबल नै मुख्य औषधि भएको बताउनु भयो । ‘मैले यही अनुभव गरेँ, तीन करोड नेपालीलाई पनि म यही अनुरोध गर्दछु कि मनोबल उच्च राख्नुस्,’ उहाले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्