जनता टाइम्स

५ असार २०७७, शुक्रबार २१:५३

कोरोना जितेर एकैदिन डिष्चार्ज भए २१६ जना संक्रमित


काठमाडौं, असार ५

शुक्रबार थप २१६ जना कोरोनाको उपचारपछि निको भएर घर फर्किएका छन् । तीमध्ये नौ महिला र २०७ पुरुष रहेका छन् । योसँगै निको भएर घर फर्किनेको सङ्ख्या एक हजार ४०२ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सँगै सङ्क्रमितको सङ्ख्या ८ हजार २७४ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ४ हजार २ सय ३१ गरी शुक्रबारसम्म पीसीआर विधिबाट १ लाख ६१ हजार ७ सय ४९ जनाको परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट पछिल्लो २४ घन्टामा ४ हजार ३ सय ९९ गरी शुक्रबारसम्म २ लाख ४७ हजार ८ सय ७४ जनाको परीक्षण भएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार एक लाख नौ हजार ४६१ जना क्वारेन्टिनमा र छ हजार ८५० जना आइसोलेशनमा रहेका छन् । मुलुकभर २२ प्रयोगशालाबाट पीसीआर परीक्षण गरिँदै आएको छ ।

कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म २२ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा थप सङ्क्रमितको मृत्यु नभएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म देशका ७४ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ ।