जनता टाइम्स

६ असार २०७७, शनिबार ११:२६

कोरोनाबाट मृत्यु भएकाको परिवारका सदस्य पनि संक्रमित


कैलाली, असार ६

कैलालीको गोदावरी नगरपालिका–१ मा कोरोना संक्रमणबाट मृत्यु भएका पुरुषको सम्पर्कमा आएका चार जना पनि संक्रमित भेटिएका छन् । मृतकका परिवारका तीन जना र एक जना छिमेकीमा कोरोना संक्रमण देखिएको हो ।

धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा मृतककी ४१ बर्षिय श्रीमती र उनका १६ र २१ बर्षिय छोरामा कोरोना संक्रमण पृष्टि भएको गोदावरी नगरपालिका प्रमुख हरिसिंह साउदले बताउनुभयो । यस्तै सोही ठाउँका ५८ बर्षिय छिमेकी पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको गोदावरी नगरपालिकाले जनाएको छ ।

बुधवार राती धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएका ४६ वर्षिय कोरोना संक्रमित ती पुरुषको सम्पर्कमा रहेका घरपरिवारका ५ जनाको स्वाब परीक्षण गर्दा चार जनामा कोरोना पुष्टि भएपछि घर टोलसँगै अत्तरिया बजार सिल गरिएको छ ।