जनता टाइम्स

९ असार २०७७, मंगलवार ११:१६

१८ वटा उडानबाट विभिन्न देशमा रहेका नेपालीको उद्धार हुदै


काठमाडौं, असार ९

विभिन्न ६ वटा देशबाट एक हजार भन्दा धेरै नेपाली आज स्वदेश फर्किँदैछन् । ​अष्ट्रेलिया, कतार, थाइल्यान्ड, कुवेत, युएइ र मालदिभ्समा रोकिएका नेपाली स्वदेश फर्कने क्रम आज विहानैबाट शुरु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अष्ट्रेलियाबाट आज पहिलोपटक उद्धार गर्न लागिएको हो । अष्ट्रेलियाबाट २ सय ५० भन्दा धेरै नेपाली आज राती साढे १० बजे स्वदेश आउने मन्त्रालयका सहसचिव हरिस्चन्द्र घिमिरेले जानकारी दिनुभयो । कुवेतबाट जजिरा एयरमार्फत विहान साढे ११ बजे १५० जना नेपाली काठमाडौं आईपुग्दैछन् । कुवेतबाट आउनेमा अधिकांश महिला र बालबालिका रहनेछन् ।

कतारबाट हिमालयन एयरलाइन्समार्फत १४५ नेपाली स्वदेश फर्किएका छन् । १ जना गर्भवती सहित ६१ जना महिला र ८४ जना पुरुष स्वदेश फर्किएको त्यहास्थित नेपाली दूतावासले जानकारी दिएको छ । थाइल्यान्ड र मालदिभ्समा रोकिएका नेपाली लिन नेपाल एयरलाइन्स का दुई वटा विमान विहान त्यसतर्फ उडेका छन् ।

थाइल्यान्डबाट १५८ र मालदिभ्सबाट १५० जना नेपाली स्वदेश फर्कर्दै छन् । युएइबाट दिउँसो साढे १ बजे १५० जना भन्दा धेरै नेपाली स्वदेश फर्कदै छन् । यस्तै स्वाथ्य सामाग्री लिन हिमालय एयरलाइन्सको विमान बिहान चीनको चाङसा प्रस्थान गरेको छ । प्राधिकरणका अनुसार उक्त विमान वेलुका ६ बजे काठमाडौं आइपुग्ने छ । आज पनि दिनभर त्रिभुवन विमास्थलबाट विभिन्न देशमा आउने जाने गरी १८ वटा उडान हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।