जनता टाइम्स

९ जेष्ठ २०७६, बिहीबार १५:०१

बलात्कार गरि फरार चितवनका २ अभियुक्त पक्राउ


चितवन, जेठ ९

बलात्कार गरी फरार रहेका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । तीमध्ये एक जनालाई भारतीय सीमा क्षेत्र सुनौली र अर्कोलाई जिल्लाबाटै पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले आज जारी गरेको प्रेस विज्ञप्तिमा वैशाख ६ गते दिउँसो माडी नगरपालिका–५ छरछरेमा १५ वर्षीया किशोरीलाई जबर्जस्तीकरणी गरी फरार रहेका अभियुक्तलाई प्रहरीले सुनौलीबाट पक्राउ गरेको हो ।

स्थानीय ३८ वर्षीय शम्शेर विकले सोही ठाउँका १५ वर्षीया किशोरीलाई घर नजीकै न्युरो टिप्न गएको समयमा जबर्जस्तीकरणी गरी फरार भएका थिए । भारतीय प्रहरीको सहयोगमा सुनौली नाकाबाट निजलाई बुधबार पक्राउ गरिएको हो । यसैगरी भरतपुर महानगरपालिका–१६ का २५ वर्षीय सुवास परियारलाई आज बिहान पक्राउ गरिएको छ ।

परियारले स्थानीय १२ वर्षीया बालिकालाई घरमा नै बोलाएर वैशाख ३० गते जबर्जस्तीकरणी गरी फरार भएका थिए । पक्राउ परेका दुबै जनालाई प्रहरीले आज म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।