काठमाडौं, असार १३ । गम्भीर बिरामी परेकी दोलखाकी एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ ।
अत्याधिक रक्तश्राव भएपछि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा शुक्रबार (हिजो) भर्ना हुनुभएकी गौंरीशंकर गाउँपालिका–४ झ्याकुकी ७ महिनाकी गर्भवती पासाङ ठिली शेर्पालाई थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरी आज दिउँसो काठमाडौं ल्याइएको हो । अहिले उहाँको काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पतालमा उपचार भईरहेको छ ।
६ दिन देखि रक्तश्रावबाट पीडित हुनुभएकी शेर्पालाई थप उपचारका लागि काठमाडौं रिफर गर्नु परेको केन्द्रका चिकित्सक डा. अरुण उप्रेतीले जानकारी दिनुभयो । अस्पतालका अनुसार शेर्पाको पाठेघरको मुखमा र पेटमा रहेको बच्चाको समेत मुटुमा समस्या देखिएको थियो । अस्पतालले काठमाडौं लैजानुपर्ने अवस्था रहेको सिफारिस गरेपछि प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले हवाई उद्धारका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई जानकारी गराउनु भएको थियो । त्यसलगत्तै मन्त्री गुरुङले आफ्नै पहलमा हवाई उद्धारका लागि हेलिकप्टरको व्यवस्था गर्नु भएको थियो ।
मन्त्रालय अन्तरगतको ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रमले दूर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको निःशुल्क हवाई उद्धार गर्दै आएको छ । लकडाउनको अवधिमा मात्रै २० जना गर्भवती तथा सुत्केरीहरुको निःशुल्कहवाई उद्धार गरिएको कार्यक्रम समन्वय इकाइकी प्रमुख अञ्जु ढुंगानाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्