जनता टाइम्स

१६ असार २०७७, मंगलवार १३:४१

रामेछाप–काठमाडौं पत्रकार समाजद्धारा पत्रकारहरुलाई व्यक्तिगत स्वास्थ्य सुरक्षा सामाग्री वितरण


काठमाडौं, असार १६

‘रामेछाप–काठमाडौं पत्रकार समाज’ले काठमाडौंमा रहेर विभिन्न सञ्चारमाध्यममा काम गरिरहेका रामेछाप जिल्लाका पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस नेपालमा पनि तिब्र रुपले फैलिएसँगै समाचार संप्रेषणका लागि अग्रपंक्तिमा रहेर काम गरिरहेका पत्रकारहरुलाई ग्लोब्स, स्यानिटाईजर, मास्क र ज्याकेट वितरण गरेको हो । काठमाडौंको भृकुटीमण्डपमा सोमबार आयोजित कार्यक्रममा जिल्लाका पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । असार १५ को अवसर पारेर काठमाडौंको भृकुटी मण्डपमा आयोजना गरिएको समारोहमा दही चिउराले पत्रकारहरुलाई स्वागत गरिएको थियो ।

कार्यक्रममा समाजका अध्यक्ष प्रेम गौतम, उपाध्यक्ष कमला रसाइली, महासचिव दीपेन्द्र गुरुङ कोषाध्यक्ष यसिमा महत, सचिव प्रज्वल पौडेल र सदस्यहरु सम्झना श्रेष्ठ, अनिस मिजारले काठमाडौमा रहि विभिन्न सञ्चारमाध्यममा आवद्ध भई कोरोना भाइरस विरुद्ध अग्रपंक्तिमा रहि जोखिमपूर्ण काम गर्नुपर्ने भएकोले जिल्लाबाट काठमाडौं आएर सञ्चार माध्यममा आवद्ध पत्रकारहरुलाई केही भएपनि राहत पुग्ने विश्वास लिएको बताउनुभएको थियो । अध्यक्ष गौतमले राजधानी बसेर पत्रकारिता गरिरहनुभएको जिल्लाका पत्रकार साथीहरुलाई एकत्रित गर्दै रामेछापको चौतर्फी विकासमासमेत वकालत गर्दै जाने लक्ष्यका साथ काम भइरहेको बताउनुभयो ।

समाजले रामेछापबाट राजधानी आएर पत्रकारिता पेशा अँगालेका पत्रकारहरुलाई व्यक्तिगत स्वास्थ्य सुरक्षा सामाग्रीहरु वितरण गरेको हो । नेपाललगायत विश्वव्यापीरुपमा फैलिरहेको कोभिड–१९ को जोखिममा आफ्नो ज्यानको बाजी लगाएर राजधानीमा पत्रकारिता पेशामा संलग्न रामेछापका करिब ५० जना भन्दा बढी पत्रकारहरुलाई उक्त व्यक्तिगत स्वास्थ्य सूरक्षा सामाग्रीहरु उपलब्ध गराएको हो । पत्रकारलाई वितरण गरिएको प्रेस ज्याकेटसहितका सामग्रीको व्यवस्था हाल अमेरिकामा रहनुभएका पूर्वपत्रकार सोनाम गेल्बु शेर्पाले गर्नुभएको हो ।