जनता टाइम्स

१८ असार २०७७, बिहीबार ०८:२६

आईएफसीबाट २५ मिलियन डलर भित्र्याउँदै एनएमबी बैंक


काठमाडौं,  असार १८ । एनएमबी बैंकले २ वर्षका लागि आइएफसीबाट २५ मिलियन अमेरिकी डलर बराबरको कर्जा भित्र्याउने भएको छ । कोरोनाका कारण समस्यामा परेका साना तथा मझौला व्यवसायको प्रवर्द्धनका लागि उक्त रकम खर्च गरिने बैंकले जनाएको छ ।

विदेशी वित्तीय संस्थाबाट नेपालमा लगातार यसखालको कर्जा भित्र्याउनेमा एनएमबी बैंक अग्रस्थानमा रहँदै आएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृत सुनील केसीका अनुसार आईएफसीबाट प्राप्त हुने उक्त कर्जाले प्राथमिकता प्राप्त क्षेत्रहरू, साना तथा मझौला कर्जा र सौर्य परियोजनालगायत नवीकरणीय ऊर्जाको प्रवर्द्धनमा सहयोग पुग्नेछ ।

उक्त कर्जा भित्र्याउनेसम्बन्धी द्विपक्षीय सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत केसी र आईएफसीका कार्यवाहक आवासीय प्रतिनिधि सन्तोष पाण्डेले हस्ताक्षर गर्नुभएको छ । विशेष गरी नेपालको ऊर्जा तथा साना र मझौला उद्योगको प्रवर्द्धन र विकासमा एनएमबी बैंकले उल्लेख्य लगानी गर्दै आएको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रही कृषि, ऊर्जा र पर्यटनको क्षेत्रमा निरन्तर लगानी गर्दै आएको बैंकले कोरोनाका कारण समस्यामा परेका क्षेत्रलाई विशेष प्राथमिकतामा राखी कर्जा विस्तार गर्ने योजना अगाडि सारेको छ । आईएफसीबाट लिइएको कर्जासमेत नयाँ उद्यमीको खोजीमा परिचालन गरिने प्रमुख कार्यकारी अधिकृत केसीले जानकारी दिनुभयो ।