जनता टाइम्स

१८ असार २०७७, बिहीबार १२:४७

टिचिङ अस्पतालमा रहेका कोरोना संक्रमित ४७ दिने शिशुको मृत्यु


काठमाडौं, असार १८

त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत शिशुको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएका ४७ दिने शिशुको बुधबार बेलुका मृत्यु भएको शिक्षण अस्पताल स्रोतले जानकारी दिएको छ । ४५ दिनको दिन घाँटीको शल्यक्रिया गरिएको थियो । टिचिङ अस्पतालमा जन्मिएका शिशुमा विभिन्न स्वास्थ्य समस्या आएपछि त्यही अस्पतालमै रहँदै आएका थिए ।

घाँटीको शल्यक्रिया गर्नुअघि गरिएको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण देखिएको थियो । यससँगै नेपालका कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ जना पुगेको छ । आइसोलेसेनमा उपचाररत शिशुको मृत्यु भएपछि उनको सम्पर्कमा आएका चिकित्सक र स्वास्थयकर्मीहरु शिक्षण अस्पतालकै क्वारेन्टाइनमा बसेको अस्पतालले जनाएको छ ।