जनता टाइम्स

१८ असार २०७७, बिहीबार १६:५९

नेकपाको स्थायी कमिटी बैठक शनिवारसम्म स्थगित, यस्तो छ कारण


काठमाडौं, असार १८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शनिवारसम्म स्थगित भएको छ । पार्टी एकता गम्भीर संकटमा परेको निश्कर्षसहित अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच घणिभुत छलफल गरी संकट टार्नुपर्ने निश्कर्षसहित आजको स्थायी कमिटी बैठक केहीबेर बसेर पर्सि शनिवारसम्मका लागि स्थगिचत भएको हो ।

प्रधानमन्त्री ओलीबिरुद्ध नेताहरुले गुटबन्दी गरेपछि आज मन्त्रिपरिषद बैठक राखेर संसदको दुवै अधिवेशन अन्त्य गर्ने निर्णयलगत्तै बिहान बसेको बैठक स्थगित भएको थियो । बैठक स्थगित गरी अध्यक्ष प्रचण्ड राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेटन शीतलनिवास जानुभएको थियो । राष्ट्रपतिसँग भेटेर बालुवाटार नै फर्किएर प्रचण्डलेस्थायी कमिटी बैठक राखी उहाँसँग भएको छलफलबारे जानकारी गराउनु भएको थियो ।

प्रचण्डको भनाईपछि छलफलका लागि समय आवश्यक रहेको भन्दै पर्सिसम्म स्थायी कमिटी बैठक स्थ्गित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । पार्टी एकताको सहमतिबिपरित प्रधानमन्त्री र अध्यक्षबाट समेत हटाउने खेलमा अर्का अध्यक्ष प्रचण्डसहित सचिवालयकै नेताहरु लागेपछि नेकपाभित्र गम्भीर संकट आएको छ । दुवै पदमा निर्वाचित हुनुभएका ओलीलाई दुवै पदबाट बहुमतका नाममा हटाउने खेल अघि बढेपछि प्रधानमन्त्री ओलीले आजको कदम चालेको नेकपाकै नेताहरुले बताएका छन ।

‘अध्यक्ष प्रचण्डले आज मन्त्रिपरिषद नबस्ने र आजै संसद बैैठक अन्त्य नगर्ने कुरा भएको थियो, कसरी यस्तो भएछ भन्नुभयो । त्यसपछि बैठक बसेर अध्यक्ष प्रचण्डसहित प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसँग छलफल गर्नुभयो, छलफलपछि उहाँ राष्ट्रपति भेटन जानुभएको हो, फर्किएर पुनः बैठक बसेर पर्सिसम्मका लागि स्थगित गरिएको हो,’ बैठक स्थगित भएपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो । उहाँले पार्टी एकता नै गम्भीर मोडमा पुगेकोले समय लिएर छलफलका लागि भोलि बैठक नराखेको बताउनु भयो ।

‘पार्टी एकता गंभीर संकटको मोडमा पुग्न लागेको त होइन भन्ने गम्भीर चासोसहित आज बैठकले पुनः पार्टी एकतालाई हरहालतमा रक्षा गर्न र सुदृढ गर्न, पार्टी सरकार र राष्ट्रलाई पनि अघि बढाउन थप छलफल गर्न पर्सि सम्म स्थायी कमिटी बैठक स्थगित गरिएको छ,’ श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार अहिलेको संकट र समाधानको बारेमा अध्यक्षद्वय ओली र आवश्यक पर्दा अन्य नेताहरुको बीचमा पनि भोलि छलफल हुनेछ ।