जनता टाइम्स

१८ असार २०७७, बिहीबार १७:२०

त्यो झुटो सूचनाले राष्ट्रपति भेटन शीतलनिवाश पुगे प्रचण्ड


काठमाडौं, असार १८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड शीतलनिवाश पुगेर एक घण्टा राष्ट्रपति बिद्यादेवी भण्डारीसँग छलफल गर्नुभएको छ । बहुमतको नाममा प्रचण्डलाई नै दुरुपयोग गरी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन लागिपरेको एउटा समुहले झुटो सूचना दिएपछि स्थायी समिति बैठक स्थगित गरेर अध्यक्ष प्रचण्ड राष्ट्रपति भेटन शीतलनिवाश पुग्नुभएको हो ।

आज बिहान अध्यक्ष तथा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भएको छलफल सकारात्मक रहेको थियो । छलफलको क्रममा ओलीले संसद अधिवेशन अन्त्य गर्ने बिषयमा जानकारी दिनुभएको थियो । प्रचण्डले भने यस बिषयमा सोच्न सुझाउनु भएको थियो । प्रधानमन्त्री ओलीले पनि आजको स्थायी कमिटी बैठक स्थगित गरी आफूहरुबीच गहन छलफलसहित निकास दिने प्रस्ताव गर्नुभएको थियो । यहीबीचमा मन्त्रिपरिषदले संसद अधिवेशन अन्त्य गर्ने सिफारिश राष्ट्रपतिलाई सिफारिश गरेपछि सचिवालयकै केही नेताहरुले अध्यादेशसमेत पठाएको झुटो सूचना प्रचण्डलाई दिएका थिए ।

प्रधानमन्त्री ओलीले फेरि दल दर्ता सम्बन्धि कानून संशोधन गरी अध्यादेश पठाएको सूचनाले तरंगित बनेर अध्यक्ष प्रचण्ड तत्कालै राष्ट्रपति भेटन शीतलनिवास पुग्नुभएको थियो । तर सरकारले कुनै अध्यादेश पठाएको थिएन । ‘अध्यक्ष कमरेड प्रचण्ड बैठक रोकेरै सम्मानीय राष्ट्रपति भेटन जानुभएको हो, अहिलेको परिवेशमा संसद अधिवेशन अन्त्य भइसकेपछि अध्यादेशको बिषय पनि चर्चामा आएकोले अहिले त्यो स्थिति होइन भनेर राष्ट्रपतिसँग अनुरोध गर्न उहाँ जानुभएको हो,’ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो ।

उहाँका अनुसार अध्यक्ष प्रचण्डले राष्ट्रपतिसँग यही बिषयमा कुराकानी भएको जानकारी फर्किएर आएर बसेको स्थायी कमिटीमा दिनुभएको छ । ‘राष्ट्रपतिले अध्यादेश नआएको जानकारी दिनुभयो, प्रधानमन्त्रीले पनि अहिले अध्यादश जारी गर्ने योजना नभएको र नपठाएको जानकारी दिनुभएको अध्यक्ष प्रचण्डले बताउनु भएको छ,’ प्रवक्ता श्रष्ठले भन्नुभयो ।