जनता टाइम्स

१९ असार २०७७, शुक्रबार १३:४२

कस्लाई खुशी पार्न गर्दैछौं ओलीबिरुद्ध मोर्चाबन्दी ?


नेपाल कम्युनिष्ट पार्टी बिचार, राजनीतिक सिद्धान्त, संगठन र राजनीतिक अनुशासनको जगमा जनअनुमोदित पार्टी हो । शान्तिपूर्ण जनआन्दोलन र सशस्त्र आन्दोलनका भट्टीबाट खारिएका नेताहरुले नेतृत्व गरिरहेको पार्टी आज आन्तरिक अन्तरबिरोधले ग्रस्त छ । हिजो हामीले एकता गर्दा बिश्वको प्रतिक्रियावादीलाई चकित बनाएको उदघोष गरेका थियौं । हाम्रो निर्णय क्षमता र ईच्छा शक्तिमा गर्ब गरेका थियौं ।

आज एकताको ऐतिहासिक कार्यभार पूरा नगरी पार्टी एकताको सर्वस्वीकार्य सहमतीय सिद्धान्तलाई तिलाञ्जली दिएर ब्यक्तिगत महत्वाकांक्षा र स्वार्थलाई केन्द्र बिन्दुमा राखी श्रद्धेय अध्यक्ष र सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको बिरोधमा मोर्चाबन्दी कसलाई चकित पार्न गर्दै छौं ? कसलाई खुशी पार्न यो नौटंकी मञ्चन हुँदैछ ? देशभरका पार्टी पंक्ति यही प्रश्न गररहेका छन । अब सबै पार्टी हीतबिरोधी गतिविधि त्तकालै बन्द गरी निहित स्वार्थी मानसिकताबाट मुक्त भै कम्युनिस्ट पार्टी, आन्दोलन र सरकारलाई एकताबद्ध बनाई अगाडि बढनु नै आजको ऐतिहासिक दायित्व हो । नेतृत्वले यो जिम्मेदारी पूरा गर्नु पर्दछ ।

पार्टीका तमाम नेता तथा कार्यकर्ता शुभेच्छुक नेपाली जनताको माग र चाहना एकताबद्ध सुदृढ कम्युनिस्ट पार्टी र लोकप्रिय सरकार हो । यसबिपरित नेपाली जनताको कुनै अपेक्षा छैन । त्यसैले पार्टी एकाताको मुल भावना, आदर्श, मुल्य मान्यता भित्र रही सबै नेताहरुले संयमता अपनाऊँ । हामी सबै एकताबद्ध हौं । पार्टी एकतालाई बचाऊँ । पुनः कम्युनिष्ट बिरोधी शक्तिलाई पराजित गरौं । यही नै अहिलेको हामी सबैको कर्तब्य र जिम्मेवारी हो ।

(पोखरेल नेकपा बागमति प्रदेशका सचिव तथा केन्द्रीय कमिटी सदस्य हुनुहुन्छ)