जनता टाइम्स

२१ असार २०७७, आईतवार १७:५५

टोपबहादुर रायमाझीले सुनाए बटमलाइन : सरकार परिवर्तन गर्ने कुरा स्वीकार्य हुन्न


काठमाडौं, असार २१ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले अहिले सरकार परिवर्तन गर्ने कुरा स्विकार्य नहुने प्रष्ट पार्नुभएको छ । पार्टीभित्रको विवाद समाधानको लागि शीर्ष नेताहरुले आपसी सहमति कायम गर्नुको विकल्प नभएको आफ्नो धारणा राख्दै रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन भने पार्टी नेता, कार्यकर्ता र जनता कसैलाई पनि स्वीकार्य नहुने बटमलाइन सुनाउनु भएको हो ।

‘सरकार परिवर्तन गर्ने कुरा स्विकार्य हुन्न, यो काम अत्यन्तै घातक हुन्छ,’ रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै तथा पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका नेता रायमाझीले भन्नुभयो । उहाँले नेकपाभित्रको विवाद कसरी समाधान हुन्छ ? भनेर यतिवेला सारा नेपाली जनता, नेकपाका नेता÷कार्यकर्ताहरुले चासो र चिन्ताका साथ हेरिरहेको बताउनु भयो । उहाँले पार्टीभित्र अहिले देखिएको आन्तरिक विवाद नीति, विचार र विकास र समृृद्धिको एजेण्डाभन्दापनि शक्ति बाँडफाँडमा बढि केन्द्रीत रहेको स्पष्ट पारे । ‘अहिले नेकपाभित्रको विवाद खासगरी पावर सेयरिङमा सम्बन्धित छ । यही विषयले उचाई लिईरहेको छ । अहिलेको बहस एजेण्डामा भन्दा पनि कसरी सरकार परिवर्तन गर्ने भन्नेमा केन्द्रित रहेको छ,’ रायमाझीले भन्नुभयो ।

उहाँले लामो समयपछि नेपाली जनताले दुई तिहाई बहुमत दिएर मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न र विकास र समृद्धिको एजेण्डालाई अघि बढाउन नेकपालाई सरकारमा पठाएको सुनाउँदै सोहीअनुसार नेकपा र यसको नेतृत्वमा रहेको सरकार खरो रूपमा उत्रिनुपर्नेमा जोड दिए । ‘दुई तिहाईको सरकार बनेपछि जनतामा यो सरकारप्रति अपेक्षा बढ्नु स्वभाविक हो । हामीले जनताका चाहनाबमोजिम राम्रो काम गर्न सक्ने अवसर थियो । तर, हामीले जनताका अपेक्षा पूरा गर्नेगरी काम गरेनौं । विगतका सरकारभन्दा राम्रा काम त पक्कैपनि भएका छन,’ उहाँले भन्नुभयो । उहाँले अहिले पार्टी एकताका अधुरो कामपनि ओझेलमा परेको उनको गुनासो छ ।

मुलुक यतिवेला कोरोनाको महामारीविरुद्ध लडिरहेको, सिमा विवादमा सिंगो राष्ट्र एकजुट भएर लागिरहेको सुनाउँदै उहाँले यस्तो बेलामा बहस र छलफल अरु विषयमा केन्द्रित गर्नु दुःखद् भएको टिप्पणी गर्नुभयो । ‘सरकारलाई परीणाममुखी बनाउनको लागि छलफल आवश्यक छ, तर सरकार परिवर्तन गर्दैमा समस्याको समाधान त हुने होईन । यो बेलामा सरकार परिवर्तन गर्नु उपयुक्त होईन,’ रायमाझीले भन्नुभयो ।

रायमाझीले अहिले सरकार परिवर्तन गर्नु वा प्रधानमन्त्री र अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउन खोज्नु पार्टी एकताको म्याण्डेटविपरित हुने तथ्य पनि राख्नुभयो । ‘एकता महाधिवेशन नभएसम्म सहमतिका साथ अघि बढ्ने समझदारी छ । अहिले बहुमत वा अल्पमतमा जाने होईन् । बहुमतको आधारमा अध्यक्ष वा प्रधानमन्त्री परिवर्तन गर्दा त्यो पार्टी एकताको म्याण्डेटविपरित हुन्छ,’ रायमाझीले भन्नुभयो । अहिले प्रधानमन्त्री परिवर्तन गरिए देश अस्थिरतातर्फ जाने पनि उहाँको भनाई छ । अहिले देखिएका विवाद समाधानको लागि नेताहरुले पार्टी एकतालाई केन्द्रविन्दुमा राखेर छलफल गर्नुपर्ने उनको सुझाव छ ।

‘विधि, प्रक्रियासम्वद्ध छलफल हुनुपर्छ । यही छलफलको माध्यमबाट समस्याको हल गर्नुपर्छ । समाधानको उपाय खोज्नुपर्छ,’ रायमाझीले भन्नुभयो । उहाँले अहिलेको विवादलाई युद्धविराम गर्नसमेत नेताहरुसमक्ष आग्रह गरे । ‘आवेगमा होईन, विवेकले चल्ने बेला हो, सहमतिको माध्यमबाट नै हामी अघि बढ्नुपर्छ,’ नेता रायमाझीको भनाई छ । उहाँले नेकपा विभाजन भए गणतन्त्र नै खतरामा पर्ने आफ्नो निश्कर्ष पनि सुनाउनु भयो ।