जनता टाइम्स

२२ असार २०७७, सोमबार ०७:५१

देशका अधिकांश क्षेत्रमा बदली : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना


काठमाडौं, असार २२ । देशभर अहिले मनसुनी वायुको प्रभाव कायमै रहेको भन्दै मौसमबिज्ञान बिभागले सतर्क रहन अपिल गरेको छ । बिभागका अनुसार मनसुनी बायुको प्रभाव कायम रहेसँगै भारतको उत्तर प्रदेशको उत्तर, पूर्वी भू–भाग नजिक निम्न चापीय क्षेत्र रहेको छ ।

जसअनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थानहरुमा हल्का वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर अधिकांश क्षेत्रमा बदली रहनेछ । सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र बागमती प्रदेशका धेरैजसो स्थानहरुमा र प्रदेश १, प्रदेश २ का केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश ५ र गण्डकी प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । त्यसैगरी आज राती देशभरको मौसम साधारणतया बदली रहनेछ । प्रदेश ५, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा र प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बिभागले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश ५, गण्डकी प्रदेश र वागमती प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।