काठमाडौं, असार २२ । तत्काल सार्वजनिक यातायात सञ्चालन नहुने भएका छन । सरकारले व्यवसायी र मजदुरहरूको माग सम्बोधन गरे तत्कालै आफूहरूले सार्वजनिक यातायात सञचालन गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताउनुभएको छ ।
यो अवस्थामा यातायात सञ्चालन गर्नसक्ने अवस्था नरहेका कारण यातायात व्यवसायीहरूले यथास्थितिमा सार्वजनिक यातायातका साधन चलाउन नसक्ने अध्यक्ष कर्माचार्यको भनाई छ । सरकारसँग वैशाखदेखि नै आफूहरूकै बैङ्कको किस्ता र मजदुरहरूलाई बाँच्नसक्ने अवस्था सिर्जना गराउन माग गरिरहे पनि आफूहरूलाई जवाफ नै नआएको कर्माचार्यले बताउनु भयो । ‘व्यवसायीले अहिलेको अवस्थामा चालकलाई पिपिइ, यात्रुहरूलाई मास्क, सवारी साधनहरूको डिस्इन्फेक्सन गर्न सक्दैनौँ, त्यसको व्यवस्थापन सरकारले गर्नुपर्छ’ अध्यक्ष कर्माचार्यले भन्नुभयो ।
सरकारले मासिक किस्ता तिर्न सक्ने अवस्था, मजदुरलाई पाल्नसक्ने अवस्था र दैनिक खर्चको व्यवस्थापनको ग्यारेन्टी गरे मात्रै तत्कालै सार्वजनिक यातायात सञ्चालन गर्न सकिने उहाँको भनाई छ । बसपार्कमा सवारी साधनहरूको दैनिक रुपमा निर्मलीकरण गर्नको लागि व्यवस्था, राजधानी भित्रने चार नाकामा समेत सुरक्षाको उपाय अपनाउन सक्ने व्यवस्था गरे मात्रै सार्वजनिक यातायात सञ्चालन हुन सक्ने भन्दै उहाँले सरकारको जवाफ व्यवसायीहरूले कुरेर बसेको बताउनु भयो । लामो, मध्यम तथा छोटा दूरीका सवारी साधन चलाउँदा अपनाउनुपर्ने सावधानीको मापदण्ड बनाएर अघि बढ्न तयार रहेको बताउँदै अध्यक्ष कर्माचार्यले व्यवसायी यस्तो समयमा भाडा बढाउने पक्षमा नरहेको स्पष्ट पार्नुभयो ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल यो विषम परिस्थितिमा सरकारको क्याबिनेटले निर्णय गरेपछि मात्रै यातायात सञ्चालन हुन सक्ने बताउनुहुन्छ । कोभिड–१९ को महामारीमा सरकारको निर्णयपछि मात्रै यातायात सञ्चालन हुन सक्ने र त्यो निर्णय भएपछि मात्रै आफूहरूले कसरी सार्वजनिक यातायात सञ्चालन गर्ने भनेर भन्न सक्ने बताउनुभयो । सरकारले यातायात सञ्चालन गर्न सकिन्छ भनेर निर्देशन दिएमा आफूहरूले समेत कसरी चलाउन सकिन्छ भनेर तयारी थाल्ने उहाँले प्रष्ट पार्नुभयो ।
स्वास्थ्य मन्त्रालयले अब सार्वजनिक यातायात चलाउँदा हुन्छ भनेर भनेपछि मात्रै सार्वजनिक यातायात सञ्चालन गर्न सकिने र त्यसको बारेमा तयारी गरिने हमालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्