जनता टाइम्स

२२ असार २०७७, सोमबार १३:२०

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौँ शिखर सम्मेलन शुरु


काठमाडौं, असार २२

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौँ शिखर सम्मेलन शुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको आयोजनामा भएको सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले गर्नुभएको हो । भर्चूअल माध्यमबाट हुने सम्मेलन बिहान ९ बजेदेखि परिषदको सभालबाट सुरु भएको हो ।

परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवालीले अन्तर विषयक अनुसन्धानको माध्यमबाट उदयमान जनस्वास्थ्यका आज र भोलि दुई दिन चल्ने सम्मेलनमा ३२ वटा मौखिक प्रस्तुतिकरण र ५४ वटा पोस्टर प्रस्तुतिकरण हुने जानकारी दिनुभयो । सम्मेलनमा जनस्वास्थ्यसँग सम्बन्धित स्वास्थ्य समता र विकास, कोभिड १९, नसर्ने रोग, मातृ स्वास्थ्य, बाल स्वास्थ्य र किशोर किशोरी स्वास्थ्य, मानसिक स्वास्थ्य, जैविक स्वास्थ्य लगायतका ८६ वटा कार्यपत्र प्रस्तुत हुने परिषद्ले जनाएको छ ।

परिषदले प्रस्तुत भएका मौखिक प्रस्तुतिकरण र पोष्टर प्रस्तुतिकरण मध्येबाट एक–एक जनालाई उत्कृष्ट प्रस्तुतिकरण अवार्ड प्रदान गर्नेछ । यसैगरी परिषद्को जर्नलमा एक वर्षभरी प्रकाशित आर्टिकलमध्ये उत्कृष्ट आर्टिकललाई दुर्गादेवी ज्ञवाली स्पोन्सर्ड जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल उत्कृष्ट कृति पुरस्कार २०२० प्रदान गरिनेछ ।

उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार २०२०, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरष्कार र स्वास्थ्य अनुसन्धान तथा कृति प्रकाशित गरी ६० वर्ष उमेर पुगेका १ जना स्वास्थ्य वैज्ञानिकलाई लाइफ टाइम अचिभमेन्ट अवार्डद्धारा सम्मानित गरिनेछ । यसका साथै वर्षभरी परिषदमा उत्कृष्ट काम गर्ने एक जना कर्मचारीलाई बेस्ट पर्फमेन्स अवार्ड पनि प्रदान गरिनेछ ।